ल्यान्डफिल्ड साइट निर्माणमा ढिलाइ

0 Shares

इलाम, १४ कात्तिक । इलामको सूर्याेदय नगरपालिकामा दुई वर्षअघि निर्माण सुरु गरिएको ल्यान्डफिल्ड साइडको काम समयमा पूरा हुन नसक्दा फिक्कल बजार फोहरले कुरूप बन्दै गएको छ ।

ठेकेदारले समयमा ल्यान्डफिल्ड साइडको काम नगर्दा सुनपाको फिक्कल बजार फोहरले कुरुप बन्दै गएको हो । ल्यान्डफिल्ड साइड निर्माण नहुञ्जेल फिक्कल बजारको फोहर अहिले रमितेमा व्यवस्थापन गरिँदै आएको नगरपालिकाले जनाएको छ । तर, त्यहाँका बासिन्दाले आफूहरूलाई फोहरले असर गरेको भन्दै गुनासो गर्दै आएका छन् ।

ल्यान्डफिल्ड साइड बनिनसकेकाले फोहर व्यवस्थापन जटिल बन्दै गएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराई बताउनुहुन्छ ।

फोहर व्यवस्थापन गर्न सूर्याेदय नगरपालिका–८ मयुँखोला नजिक सात रोपनी जग्गा खरिद गरी साइड निर्माण थालिएको थियो । यहाँ निर्माणाधीन ल्यान्डफिल्ड साइडको काम समयमा नसकिँदा फोहर व्यवस्थापनमा समस्या भएको हो ।

रु एक करोडभन्दा बढीको लागतमा ल्यान्डफिल्ड साइड निर्माणका लागि दुई वर्षअघि थोदुङ बौद्ध जेभीलाई जिम्मा दिइएको थियो । एक वर्षअघिनै उक्त निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नहुँदा समस्या भएको हो । बारम्बार म्याद थप भए पनि ठेकेदारले कामै नगरेको नगरपालिकाले जनाएको छ । ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेकाले स्पष्टीकरण सोधिने जिल्ला प्राविधिक कार्यालयका प्रमुख इ ओमराज ढुङ्गानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार