२ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

जिल्ला अस्पतालमा औषधिको अभाव



पर्वत, १४ कात्तिक । पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ ।

विगत एक महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् । सरकारले निःशुल्क वितरण गर्ने ज्वरोमा प्रयोग हुने सिटामोल, पखालामा प्रयोग हुने मेट्रानिडाजोल, सङ्क्रमणमा प्रयोग हुने एन्टिबयोटिक एमोक्सिसिलिन लगायत १८ किसिमका औषधिको अभाव भएको छ ।

दमका बिरामीले नियमित सेवन गर्ने साल्वुटामोल चार एमजी, दुखाइमा प्रयोग गर्ने ब्रुफिन, बुस्कोपान, आखाँको औषधि सिप्रोफ्लाक्सिन, जुकाको औषधि अल्वेन्डाजोललगायतका अत्यावश्यक औषधि अस्पतालमा सकिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर सरोजचन्द्र दाहालले जानकारी दिनुभयो ।

अहिले स्लाइन र गर्भवती महिलालाई निःशुल्क वितरण गरिने आइरन चक्कीको समेत अभाव भएको उहाँले बताउनुभयो । सरकारले अत्यावश्यक ७२ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पतालमा मुस्किलले ३० प्रकारका औषधि मात्रै वितरण हुने गरेको छ । जिल्ला अस्पतालमा औषधिको स्टोर रित्तिन थालेपछि बिरामीलाई निजी क्लिनिकमा औषधि किन्न पठाइने गरिएको छ ।

गत वर्ष ढिलो गरी औषधिको टेन्डर पठाएका कारण अहिले सम्म औषधि आयात हुन नसकेको डाक्टर दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ कार्तिक २०७३, आइतबार  ४ : १० बजे