रास्वपाको सांसदले २५ हजार पार्टीलाई लेबी बुझाउनु पर्ने

  सगरमाथा अनलाईन
98 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पार्टीलाई मासिक २५ हजार रुपैयाँ लेबी बुझाउनु पर्छ । कुनै बेला सांसदबाट मासिक लेबी उठाउनेमा अरु पार्टीभन्दा एमाले अघिल्लो पंक्तिमा थियो । तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई उछिनेको छ ।

प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजार र भत्तागरी करिब एक लाख रुपैयाँ पुग्ने गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने तलबको झन्डै आधाजति अर्थात् २५ हजार रुपैयाँ मासिक लेबी उठाउन लागेको हो । क्षमताभन्दा बढी लेबी तोकिएको भन्दै रास्वपाका केही सांसदले असन्तुष्टि जाहेर गरेका छन् ।

एमालेले यसअघिको प्रतिनिधिसभा कालमा सांसदहरुबाट प्रतिमहिना १३ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । कांग्रेसले मासिक १० हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । तर अहिले यी दुवै ठूला दलले लेबी शुल्क तोक्न बाँकी छ ।

यस्तै माओवादी केन्द्रले अघिल्लो संसदकालमा मासिक १२ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । यसपल्ट पनि सोही कायम हुने बताइएको छ । जसपाले यसअघिको संसदमा मासिक १० हजार उठाउँथ्यो । नयाँ सांसदलाई कति उठाउने भन्नेबारे निर्णय छिट्टै हुने बताइएको छ ।

एकीकृत समाजवादीले सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउँछ । सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म यसबारे निर्णय गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार