काठमाडौँ, १४ कात्तिक । ह्याल्मो समाज सेवा केन्द्रले विश्व शान्तिको कामना गर्दै ‘वज्रगुरु जप कार्यक्रम’ आज सम्पन्न गरेको छ ।
काठमाडौँको बौद्ध तीनचुलीस्थित केन्द्रको परिसरमा गत असोज ३० गतेदेखि जारी सो पूजामा महायानी सम्प्रदायका अनुयायीले विभिन्न आध्यात्मिक गतिविधि गर्दै १० करोड मन्त्र जप गरे । विश्व ब्रह्माण्डमा रहेका सम्पूर्ण जीवको कल्याणका लागि ‘ओम आहुँ वज्रगुरु पेमा सिद्धि हुँ’ नामक मन्त्र जप गरिएको हो । सम्बन्धित लामा गुरुको सहयोगमा बोधिसत्वको स्मरण गर्दै पूजा तथा मन्त्र जप सम्पन्न गरिएको कार्यक्रमका संयोजक फुरिता शेर्पाले जानकारी दिनुभयो ।
करिब दुई साताका अवधिमा महायानी सम्प्रदायका अनुयायीले सिद्ध गुरु पद्मसम्भवको समेत पूजा गरेका थिए । उनीहरूले पहिलो बुद्धका रुपमा शाक्यमुुनि बुद्ध तथा दोस्रो बुद्धका रुपमा पद्मसम्भवलाई सम्मान गर्छन् ।
जप गरिएको सो मन्त्र पद्मसम्भवको मुख्य मन्त्रका रुपमा लिइएको छ । सो मन्त्र जप गरेमा मानिसको मन, वचन र कर्म शुद्ध भई पापबाट मुक्ति पाइने विश्वास छ । यस किसिमको आध्यात्मिक गतिविधि तथा मन्त्र जप कार्यक्रममा सहभागी भई दान पुण्य गरेमा सर्वसाधारण मानिसलाई विभिन्न किसिमका सांसारिक मोहबाट मुक्त भई अरुको कल्याणका लागि जिम्मेवार बनाउने बौद्व विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो ।

ह्याल्मो गुम्बाका अध्यक्ष ढाक्पा दोर्जे लामाका अनुसार उक्त मन्त्र जप गरेमा मानवकल्याणका लागि प्रेरणा मिल्ने जनविश्वास छ । केन्द्रले समयम समयमा बौद्ध दर्शन तथा साहित्यलाई प्रवद्र्धन गर्न विभिन्न आध्यात्मिक तथा सामाजिक कार्य सञ्चालन गर्दै आएको गुम्बाको हेरचाह तथा संरक्षणमा संलग्न गोपाल राईले बताउनुभयो । रासस