चिनियाँ ऊर्जा अधिकारीहरू नेपाल आउँदै

  सगरमाथा अनलाईन
0 Shares

काठमाडौं । चीनसँग जोड्ने प्रसारणलाइन सञ्जाल निर्माणबारे छलफल गर्न आइतबार चिनियाँ ऊर्जा अधिकारीहरुको टोली नेपाल आउने भएको छ । चीन जोड्ने ४ सय केभीको रातमाटे-रसुवागढी-केरुङ प्रसारणलाइनको विस्तृत सम्भाव्यता सकिएपछि चीनको स्टेट ग्रिड कर्पोरेसनको टोली नेपाल आउन लागेको हो ।

शनिबार भारतको राजस्थानमा नेपाल-भारतसँग ऊर्जा सचिवस्तरीय बैठक भएको भोलिपल्टै चिनियाँ टोली नेपाल आउन लागेको हो । चीनको टोली नेपाल आएपछि के-के विषयमा छलफल हुन्छ भन्नेबारे नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुले बताउन चाहेका छैनन् ।

चिनियाँ अधिकारीहरु प्रसारणलाइन बनाउनेबारे छलफल गर्न आउन लागेका हुन् । नेपाल विद्युत प्राधिकरणले चीन जोड्ने प्रसारणलाइनको नेपालतर्फको भू-भागमा इन्जिनियरिङ डिजाइनसहितको अध्ययन लगभग सकाएको छ ।

प्राधिकरणले लामटाङ राष्ट्रिय निकुञ्ज बाहिर र निकुञ्जभित्रबाट जाने दुई वैकल्पिक रुटको सम्भाव्यता अध्ययन गरेको छ । सकेसम्म निकुञ्ज छलेर नै करिब ७० किलोमिटरको प्रसारणलाइन बनाउने सरकारी योजना छ ।

प्राधिकरणका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बनाउने काम भइरहेको छ । ईआईए तयार भएपछि परियोजना निर्माणको काम अघि बढाउन बाटो खुल्ने छ ।

२०७६ पुसमा बसेको नेपाल–चीनबीचको संयुक्त ऊर्जा सम्बद्ध प्राविधिक समिति बैठकमा आ–आफ्नोतर्फका भू–भागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत अध्ययन अघि बढाउने निर्णय भएको थियो । परियोजनाको संयुक्त प्राविधिक स्तरमा विस्तृत अध्ययन गर्ने विषयमा प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाबीच सहमति भएको थियो ।

नुवाकोटको रातमाटेबाट चीनको रसुवागढीसम्म पुग्ने प्रसारणलाइन निर्माणका लागि प्राधिकरणले करिब ६ वर्षअघि नै अध्ययन अघि बढाउने निर्णय गरेको थियो । सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार