राष्ट्रपति पौडेलले शपथ ग्रहण आज

  सगरमाथा अनलाईन
70 Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । दिउँसो १ बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् ।

प्रधानन्यायाधीश नभएकाले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार ८ सय २ र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।

नेपालमा २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार