काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भइसकेको छ भने जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले साझेदार दलमा आन्तरिक गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको र सोमबारसम्म नतिजा निस्कने बताए ।
प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी गरेको सचिव पौडेलको भनाइ छ । सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ ।
सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ । स्रोतका अनुसार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना प्रबल जस्तै रहेको छ । माओवादीले गृह मन्त्रालय पाउने अवस्था देखिएको र उनले भौतिक छाडेर गृह मन्त्रालय पाउन सक्ने देखिएको हो ।