नेपित, १४ कात्तिक । म्यानमारको सरकारले आगामी महिना यहाँका सबै राजनीतिक दलहरुको सहभागितामा राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने भएको छ ।
म्यानमारको युनियन शान्ति वार्ता संयुक्त समितिले सो सम्मेलनको आयोजना गर्ने भएको समाचारमा जनाइएको छ ।
उक्त समितिको नेतृत्व हाल म्यानमारका राष्ट्रिय सल्लाहकार एवम् विदेशमन्त्री आङसान सुकीले गर्नुभएको छ ।
म्यानमारको राजधानी नेपितबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार अर्काे महिना आयोजना गरिएको सो सम्मेलनका लागि आवश्यक निर्देशिका तयार गरिएको छ ।
उक्त समितिको दुई दिनसम्म नेपितमा चलेको बैठकमा सो निर्णय गरिएको हो । उक्त समितिको बैठक शनिबार र आइतबार सञ्चालन गरेको हो ।
उक्त समिति म्यानमारका विभिन्न जातीय विद्रोही संगठनसँग शान्ति वार्ताका लागि गठन भएको हो ।
सो बैठकले म्यानमारका समग्र राष्ट्रिय राजनीतिक दल र सङ्गठनहरुको सहभागितामा शान्ति प्रक्रिया अघि बढाउनका लागि सो निर्णय गरिएको बताएको छ ।
मध्य नोभेम्बरमा सो राष्ट्रिय सम्मेलन हुनेछ । म्यानमारका विभिन्न प्रान्तमा नै सो सम्मेलनको आयोजना गरिएको छ ।
म्यानमारमा बिगत कैयौं लामो समयदेखि जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यका लागि वर्तमान सरकारले वार्ता समिति गठन गरी प्रयास गरेको हो ।
सो समितिमा विद्रोहीका तर्फबाट पनि प्रतिनिधित्व रहेको छ । अरु पनि सबै राजनीतिक दलहरुको सहयोग र प्रतिनिधित्वका लागि यो सम्मेलनको आयोजना गरिएको उक्त वार्ता समितिले जानकारी दिएको छ । रासस/सिन्ह्वा