२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

मोल्दोभामा आइतबार प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन



बुखारेस्ट, १४ कात्तिक । राष्ट्रपति पदका लागि आतइबार मोल्दोभामा प्रत्यक्ष निर्वाचन हुन गै रहेको छ ।

राष्ट्रको संसदले अप्रत्यक्ष रुपमा देशको राष्ट्रप्रमुखको चयन गर्ने विगत १६ वर्षदेखिको प्रथा र परम्परालाई बदल्दै यस पटकदेखि प्रत्यक्ष निर्वाचन गरिने भएको हो ।

यस प्रत्यक्ष मतदानमा मोल्दोभाका करिब ३० लाख नागरिकहरुले भाग लिने अपेक्षा गरिएको छ ।

पूर्व, उत्तर र दक्षिणमा विशाल युक्रेन तथा पश्चिममा रोमानियाबीचको, कृष्ण सागर (ब्ल्याक सि) को उत्तरमा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र मोल्दोभामा रुस समर्थक र पश्चिम युरोप समर्थक दुई स्पष्ट धारमा जनता तथा राजनीतिकर्मीहरु बिभाजित छन् ।

हाल राष्ट्रपति पदका लागि निर्वाचन मैदानमा तीन जना स्वतन्त्र उम्मेदवार सहित नौजनाबीच होडबाजी चलिरहेको छ ।

यद्यपि, समाजवादी पार्टीका नेता, रुस समर्थक राजनीतिक व्यक्तित्व इगोर दोदोन र पूर्व शिक्षामन्त्री, एक्सन एण्ड सोलिडारिटि पार्टी प्रमुख, पश्चिम युरोप समर्थक राजनेता मैया सन्दुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्तारुढ डेमोक्र्याटिक पार्टीका पूर्वअध्यक्ष म्यरियान लुपुले पहिला उम्मेदवारी दर्ता गराए ता पनि अन्तिम समयमा आएर केही दिन अघि पश्चिम युरोप समर्थक उम्मेदवारलाई ऐक्यवद्धता जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

निर्वाचन हुनुपूर्व गरिएको एक पर्यवेक्षण तथा नतिजा अनुमान अनुसार रुस समर्थक इगोर दोदोन धेरैजसो निर्वाचन केन्द्रहरुमा अग्रपंक्तिमा रहेका छन् ।

गतः २१ अक्टोबरका दिन निर्वाचन पर्यवेक्षण गर्ने एक स्वतन्त्र संस्थाः मोल्डोभन एसोसिएसन अफ सोसियोलोजिस्ट एण्ड डेमोग्राफर्सले नमूना निर्वाचन कार्यक्रम सञ्चालन गरेकोमा कार्यक्रममा भाग लिनेहरुको कूलसंख्या मध्ये इगोरलाई चालीस दशमलब पाँच प्रतिशतको समर्थन प्राप्त भएको थियो भने सन्दुलाई तेह« प्रतिशत मात्र ।

विगतमा मोल्दोभामा मच्चिएको ठूलै भ्रष्टाचार काण्ड अझैसम्म सेलाएको छैन । देशको बैँकिग प्रणालीबाट एक अर्ब अमेरिकी डलर रकम एकाएक गायब भै ठूलै सनसनी फैलिएको थियो ।

त्यतिखेरको राष्ट्रिय आर्थिक अवस्था विचार गर्दा एक अर्ब अमेरिकी डलर बराबरको रकम मुलुकको कूल गाह्र्यस्थ उत्पादन राशीको करिब १० प्रतिशत अंश हुन गएको थियो ।

यही भ्रष्टाचार काण्डको विरोधमा गतवर्ष ठूलो जनप्रदर्शन भएका कारण युरोप समर्थक राजनीतिक नेताहरुप्रति आम जनविश्वास निकै खस्किनाले रुस समर्थक समाजवादी पार्टीका नेताहरुले थप लोकप्रियता आर्जन गरी आंशिक लाभ उठाउन पाएका थिए ।

अहिले, त्यही आंशिक लाभले राष्ट्रपतीय निर्वाचनमा विजयको सुपरिणाम देखाउनेजस्तो भएको जनाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १४ कार्तिक २०७३, आइतबार  १० : ०५ बजे