ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिकः ‘दाइले भेट्न खोज्नुभएको छ !’ [अडयोसहित]

  सगरमाथा अनलाईन
392 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ ।

दोस्रो अडियोमा आफूलाई ढाकाकुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।

आफूलाई ढाकाकुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भन्छन्, ‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ‘.दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु प¥यो यो कुरालाई ।’

त्यसपछि प्रसाईंले यसमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् । त्यसपछि ढाका कुमारको भाइ बताउने व्यक्तिले भन्छन्, ‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’

प्रसाईं भन्छन् म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’ आफूलाई ढाका कुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।

कपुरबोट डटकमको युट्युब च्यानलबाट सार्वजनिक भएको यो सम्वादमा आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई गरेको फोनको नम्बर नै देखाइएको छ ।

साथै अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि यदु गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरेका छन् । मध्यस्थताको अपेक्षा गर्दै गौतमलाई फोन गर्ने व्यक्ति ढाका कुमार श्रेष्ठ भएको दाबी कपुरबोटले गरेको छ ।

यसअघिको अडियोमा ढाका कुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको कुराकानी छ । उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।

ढाका कुमारले भने त्यो अभिव्यक्ति आफ्नो नभएको भन्दै अडियो सम्पादन गरिएको र आफूलाई फसाउन खोजिएको जिकीर गरेका छन् ।

अडियो सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

https://youtu.be/UpHjFobkGkQ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार