२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

आगलागीबाट अढाइ लाख बराबरको क्षति



मोरङ, १५ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित जयमङ्गल खतिवडाको गाईगोठमा आज बिहान आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

बिहान २ बजेतिर दीपावली गरेर राखेको माटोको दियोबाट आगो सल्किँदा गोठमा रहेको एउटा गाई, छ वटा बाख्रा मर्नुका साथै गोठ जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो । आगो निभाउने क्रममा खतिवडाकी श्रीमती ५४ वर्षीया लोकमाया खतिवडा घाइते भएकी छन् । उनको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको छ ।

आगोलाई दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आधा घन्टापछि नियन्त्रणमा लिइएको थियो ।

बक्राहा पीडित किसानलाई राहत कार्यक्रम

मोरङको बक्राहा बाढीपीडित किसानका लागि जिल्ला कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउने भएको छ ।

बाढीबाट क्षति पुुगेका जग्गाधनी किसानलाई लक्षित गरेर राहत कार्यक्रम ल्याउन लागेको कृषि कार्यालयले जनाएको छ । कृषकको राहतका लागि रु २२ लाखको योजना केन्द्रमा पठाएको कार्यालयका बाली प्रसार अधिकृत सत्यदेव मण्डलले बताउनुभयो ।

बालुुवाले पुुरेको जग्गामा उपयुुक्त खेतीका लागी सोलार पम्पदेखी मल, बीउ तथा कीटनाशक औषधि तथा माछाका भुुरामा अनुुदान जस्ता राहतका कार्यक्रम ल्याउन लागेको अधिकृत मण्डलको भनाइ छ । च्याउको बीउ, तरकारी तथा उन्नत जातका बीउ तथा सिँचाइका लागि पनि कार्यक्रम कार्यालयले केन्द्रमा सिफारिस गरेको र ती कार्यक्रम चाँडै स्वीकृत भएर आउने मण्डलले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७३, सोमबार  ३ : २७ बजे