मुटुरोग शिविरमा एक हजार १०० को परीक्षण

0 Shares

पर्वत, १५ कात्तिक । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा सम्पन्न दुई दिने मुटुरोग परीक्षण शिविरमा एक हजार १०० जनाको परीक्षण गरिएको छ ।

दुर्गम बस्तीमा पुगेर मुटुरोगको परीक्षण गर्ने अभियानका क्रममा शनिबार आइतबार गरी दुई दिन सञ्चालित शिविरमा एक हजार १०० को परीक्षण गरिएको हो । धौलागिरि अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटुसम्बन्धी समस्या परीक्षण गर्ने र उनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यसहित दुई दिने शिविर सञ्चालन गरिएको थियो ।

पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउ अभियानलगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिविरमा पहिलो दिनमा ६०० र दोस्रो दिनमा ५०० भन्दा बढीको परीक्षण गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परीक्षण गरेको हो ।

शिविरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिनुभयो । शिविरमा परीक्षण गरिएका बिरामीमध्ये २६ जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । परीक्षण गरिएका बिरामीमा चार जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने सात जनाभन्दा बढी भल्ब थुनिएका बिरामी भेटिएका छन् ।

शिविर आयोजना गर्न एनआरएनका संयोजक कुल आचार्यले रु ७० हजार, लायन्सका कुश्मास्थित डिस्ट्रिक पदाधिकारीले रु ४० हजार र लायन्स डिस्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले रु २५ हजार सहयोग गर्नुभएको थियो ।
शिविरमा पर्वत, बागलुङ, म्याग्दी र कास्कीका विभिन्न स्थानका बिरामी सहभागी भएका थिए । उक्त टोलीले यसअघि फलेवास, तिलाहारलगायतका गाविसमा पनि शिविर सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार