काठमाडौं । कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रदेशसभाका ८२ जना सांसद र उनीहरुको शीर्ष नेता बहिस्कार गर्ने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले २८ वैशाखबाट प्रदेशसभामा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ सांसद र उनीहरुको दलका शीर्ष नेतालाई बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
‘२०८० वैशाख २८ बाट ८२ सांसद र उनीहरुको दलीय शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थान र उनीहरु सहभागी हुने कार्यक्रम तथा बैठकस्थलहरुमा विरोधका कार्यक्रम गर्ने, यसका लागि होटलमा बस्न र कार्यक्रम गर्न हल नदिन सम्बन्धित पक्षलाई अनुरोध पत्र दिने’ प्रदेश १ पुन नामांकन संयुक्त संघर्ष समितिले आफ्नो आन्दोलनका कार्यक्रममा भनेका छन् ।
त्यस्तै २६ वैशाखमा झापाको दमकमा राँके जुलुस निकाल्ने, २८ वैशाखदेखि कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला, आमसभा, संघर्ष समिति, विस्तार तालाबन्दी, कोशी नाम हटाउने र जलाउने मेट्ने, कालो झण्डा गाड्ने र ८२ प्रदेशसभा सदस्य बहिस्कार गर्ने घोषणा गरिएको छ ।
प्रदेश १ को प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेको थियो । तर पहिचान पक्षधर विभिन्न समूहले नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएका छन् । किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचानसहितको प्रदेश नं १ पुनः नामांकन अभियानले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।
प्रेस विज्ञप्ती