होसियार ! बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

  सगरमाथा अनलाईन
168 Shares

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् ।

नेपालमा यसले वर्षा गराउने भन्दा पनि बदली गराउने मौसमविदको भनाई छ । त्यसैको असरले आज कोशी प्रदेश र मधेश प्रदेशमा बादल लागेको छ । चक्रवातको पर–परका बादलहरु बेला–बेलामा आक्कलझुक्कल नेपालको आकाशमाथि आउने र त्यसको असरले आंशिक बदली हुने मौसमविदको भनाइ छ ।

बंगालको खाडीबाट बुधबार ८ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरपश्चिमतर्फ अघि बढेको मोखा १३ मे (शनिबार) देखि गम्भीर चक्रवाती तुफानमा बदलिने भारतीय मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । यो १३ मेको बेलुकीपख चरमस्तरमा पुग्ने र १४ मेको बिहान थोरै कमजोर हुने सम्भावना छ ।

भारतीय मौसमविदहरुका अनुसार यो चक्रवाती तुफान बंगलादेश र उत्तरी म्यानमारको तटीय क्षेत्रमा १२० देखि १३० किलोमिटर प्रतिघण्टाको बेगमा बहने छ । त्यसैले बंगलादेश सरकारले तटीय क्षेत्रमा नजान चेतावनीको सन्देश प्रवाह गरेको छ । त्यहाँ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

यसैगरी भारतका विभिन्न राज्यमा पनि हाईअलर्ट जारी गरिएको छ । यसको प्रभाव क्षेत्रमा तीव्र वेगले हावा चल्ने र भारी वर्षा हुने पूर्वानुमान छ ।

यो चक्रवात जति–जति उत्तरतिर आउँछ त्यति नेपालको नजिक हुन्छ र बढी प्रभाव पर्छ । तर अहिलेसम्म यो चक्रवात बहने दिशा हेर्दा नेपालमा भने ठूलो प्रभाव नपार्ने मौसमविदको भनाइ छ ।

मौसमविद विनोद पोखरेलले पनि ट्वीट गरेर आइतबार पूर्वी नेपालमा पानी पर्नसक्ने उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार