काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरातीले बाहिङ जातिको सेक्रो सीली महाकाव्यभन्दा ठूलो र अर्थपूर्ण रहेको बताएका छन् । बाहिङ किरात मुलुखिमको छैठौं राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै मन्त्री किरातीले परापूर्वकालदेखि बाहिङ समुदायले नाच्दै आएका सेक्रो सीली महाकाव्यभन्दा ठूलो भएको बताएका हुन् ।
‘हजारौं वर्ष अघिका हाम्रा पूर्खाहरुले जीवन यापन गर्न अगालेका सीपहरु अझै समय सान्दर्भिक छ,’ मन्त्री किरातीले भने, ‘हाम्रो पहिचान र सभ्यताविना कुनै अर्थ छैन, त्यसैले हामी सबै मिलेर हाम्रो सँस्कार र सँस्कृतिको जगेर्ना गर्नुपर्छ ।’
किरातीहरुको मौलिक सँस्कृति विस्तारै लोप भएकोप्रति मन्त्री किरातीले चिन्ता व्यक्त गरेका छन् । ‘हाम्रा मौलिक कला, सँस्कृति लोप भएर विस्तारै मञ्च र संग्रहलायमा पुग्दैछ,’ किरातीले भने, ‘यसप्रति तपाई हामी सबैको ध्यान जानु जरुरी छ ।’
यसैबीच मन्त्री किरातीले आफूलाई महादेव भनाउदाका सन्तानहरुले किरात सभ्यतामाथि धोका दिएको आरोप लगाएका छन् । प्रदेश नं. १ को नामाङ्कनको विषयमा धोका दिएको मन्त्रीले किरातीको आरोप छ । किरातीले प्रदेश १ को पुनः नामाङ्कनको विषयमा आफू सँधै किरात प्रदेशको पक्षमा रहने पनि बताएका छन् ।
तस्वीर सौजन्य: नैन सेटाल्चु जेरुङ
तस्वीर सौजन्य: हेमन्त बायुङ