‘अखण्ड भारत’ नक्सा बारे भारतीय नेतृत्वले स्पष्ट पार्नुपर्छः बाबुराम भट्टराई

  सगरमाथा अनलाईन
63 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । त्यसैले सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने उनको भनाइ छ ।

भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।

एउटा तस्वीर जसले प्रधानमन्त्रीको भारत भ्रमण नै खल्लो बनाउन सक्छ । यसबारे पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार