भारतमा जेल तोडेर प्रतिबन्धित इस्लामिक संगठनका बिद्रोही भागे

0 Shares

नयाँ दिल्ली, १५ कात्तिक । भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेको समाचार छ ।

मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन् ।

उक्त प्रतिबन्धित इस्लामिक संगठनका ती विद्रोहीलाई मध्यप्रदेशको राजधानी भोपालमा अवस्थित एक जेलमा राखिएको थियो ।

ती विद्रोहीले सोमबार बिहानै उक्त जेलमा रहेका एकजना एकजना सुरक्षा गार्डको पनि हत्या गरेर भागेका एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुले सोमबार बिहानी पख करिब २ बजे जेलका सुरक्षा गार्डलाई चक्कु प्रहार गरी हत्या गरेका एकजना वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।

उनका अनुसार उक्त जेलको पर्खाल चढ्नका लागि उनीहरुले ब्लाङ्केटको प्रयोग गरेका र पर्खाल माथिबाट भागेका छन् ।

राज्य सरकारले यसरी जेल तोडेर प्रतिबन्धित इस्लामिक समूहका विद्रोही भाग्नुलाई गम्भीर सुरक्षा कमजोरी भन्दै त्यसको अनुसन्धान गर्न आदेश दिएको छ ।

अनुसन्धानका लागि राज्य सरकारले नै छानबीन टोली गठन गरेको जनाइएको छ । उक्त टोलीले सो जेलमा भएको सुरक्षा कमजोरीको अवस्था पत्ता लगाउने जनाइएको छ ।

भोपाल राज्यका गृह राज्यमन्त्री भुपेन्द्र सिंहले उक्त घटनाको कडा छानबीन गरी सत्य तथ्य पत्ता लगाउने निर्देशन दिनुभएको छ ।

भारतमा यसरी जेल तोडेर कैदी भाग्ने गरेको यो पहिलो घटना भने होइन । सन् २०१३ मा पनि भोपालबाट २८० किलोमीटर टाढा रहेको खँदवा जेलबाट पनि सातजना यस्तै प्रतिबन्धित संगठनका विद्रोहीले जेल तोडेर भागेका थिए ।

यस इस्लामिक समूह सन् २००१ म जन्मिएको हो । यसले भारतका कैयौं स्थानमा हत्या हिंसाको शृंखला मच्चाएकोले सरकारले उक्त संगठनलाई प्रतिबन्ध लगाएको थियो ।

भारतको मुम्बईमा सन् २००३ मा भएको भीषण बम काण्डमा पनि यस संगठनको हात रहेको सरकारले जनाएको छ ।

सो आक्रमणमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो । अरु कैयौं व्यक्ति घाइते भएका थिए । भोपालको जेलमा पनि बम आक्रमण र हिंसामा सम्लग्नहरुलाई राखिएको थियो ।

सो बम काण्डपछि नै उक्त संगठनलाई भारतीय सरकारले प्रतिबन्ध लगाएको हो । तर यसले यहाँ भूमिगत रुपमा नै हत्या हिंसा मच्चाउने काम गर्दै आएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार