विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।
मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको तयारी भएको जनाएको छ ।
२१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ११ असारमा सर्वोच्च अदालतले पदमुक्त गरेको थियो । सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो ।
मंगलबार तीनै सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापाल विश्वासको मत लिन भने चुनौती छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ । विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठको अध्यक्षता गर्नुपर्ने हुन्छ ।
गठबन्धनबाटै बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारलाई विश्वासको मत पाउन कठिन हुनेछ ।