सोलुखुम्बु । सल्लेरी-खुम्बु जोडने सडकको कालोपत्रे शिलान्यास सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले गरेपछि जिल्लाको दुई स्थानीय तहका जनप्रतिनिधीबीच जुहारी चलेको छ । माप्य दुधकोशी गाउँपालिकाका सबै जनप्रतिनिधीले हस्ताक्षर गरेर संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिलान्यास कार्यक्रममा एकलौटी गरेको भन्दै विरोध गरेका छन् ।
सल्लेरी-सिल्गुडिडाँडा-काँकु-बासा-वर्लाङघाट-जुभिङ-खरिखोला-लुक्ला-खुम्बु सडक खण्डको जिरो प्वाइन्ट सल्लेरीस्थित सेर्गाखोपमा एक कार्यक्रमकाबीच मेयर शेर्पाले सडक कालोपत्रेको शिलान्यास गरेका हुन् । वि.सं. २०८३ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्ने गरी चम्पेश्वर-पि.एम.निर्माण जे.भी.ले सडक कालोपत्रे शुरु गरेको छ । कालोपत्रेसहितको सडक स्तोरोन्नतीको काम सडक डिभिजन हर्कपुरको बजेट भ्याटसहित ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँ रहेको छ ।
माप्य गाउँपालिका जनप्रतिनिधीको विज्ञप्ती हेर्नुहोसः
सडक शिलान्यासको यथार्थ के हो ?
आर्थिक वर्ष २०७७/०७८ मा रणनैतिक सडक योजना अन्तर्गत सोलुखुम्बुमा तत्कालिन संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले खुम्बु जोडने सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न लगाएका थिए । नेकपा माओवादी केन्द्र माप्य दुधकोशी गाउँपालिका कमिटिको विशेष अनुरोधमा निवर्तमान सांसद राईले माप्य-खुम्बु सडकलाई बजेट विनियोजन गर्न लगाएको नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य गणेशकुमार राई ‘वसन्त’ले बताए ।
‘सल्लेरी-खुम्बु सडक खण्डबारेको रोइलो देख्दा हास उठ्छ । सडक कालोपत्रे गर्नका लागि मा. हेमकुमार राईज्यूले बजेट व्यवस्थापन गर्नुभएको हो । तर अहिले लोकप्रियताको लोभले तपाईंहरु लाजमर्दो खिचातानीमा कस्तरी कुरुप देखिनुहुन्छ ? आफैं सम्झनुस । पहिले सडकलाई कालोपत्रे गरेर देखाउनुस, बाँकी पछि’ भन्दै फेसबुक वालमा प्रदेश समिति सदस्य गणेश राईले लेखेका छन् ।
कालोपत्रेका लागि बजेट विनियोजन भएपछि सिल्गुडिडाँडाबाट शुरु गर्ने की सल्लेरीस्थित सेर्गा खोपलाई जेरोप्वाइन्ट मानेर गर्ने भनेर तत्कालिन समयमै विवाद भएको थियो । त्यही विवादका कारण सडक कालोपत्रे गर्न २ वर्षपछि धकेलियो । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा सेर्गाखोपबाट कालोपत्रे शुरु हुनुपर्छ भन्ने अडान लिए भने माप्य दुधकोशीका जनप्रतिधि र माओवादी गाउँकमिटिका नेताहरुले सिल्गुडिडाँडाबाट हुनुपर्छ भन्ने विवाद लम्बिएपछि समय मात्र लम्बिएन विनियोजन भएको ६० करोड रकम २ वर्षपछि १९ करोड घटेर आयो ।
सुरवीरलाई प्रमुख अतिथि अस्वीकार गरेपछि मैले शिलान्यास गरेः मेयर शेर्पा
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा निवर्तमान संघीय सांसद हेमकुमार राई ‘सुरवीर’लाई प्रमुख अतिथि बनाउन अस्वीकार गरेपछि आफूले सडक कालोपत्रेको शिलान्यास गरेको बताएका छन् । माप्य दुधकोशीका अध्यक्ष बुद्धिकिरण राईसँग सहकार्य गर्नको लागि धेरै प्रयास गरेपनि सफल नभएको मेयर शेर्पाले बताए ।
‘माप्यका अध्यक्ष बुद्धिकिरण राईलाई मैले सयौं पटक टेलिफोन गरे कहिल्यै सम्पर्क हुन सकेन । कहिले फोनको रिङ लागेर पनि फोन उठेन । मैले धेरै पटक फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । अनि मैले एकलौटी गरे भनेर विज्ञप्ती निकाल्नु हुन्छ ।’ मेयर शेर्पाले भने, ‘अध्यक्षज्यूले रेस्पोन्स नगरेपछि मैले माप्यकै उपाध्यक्ष गौरबजीलाई फोन गरेर पनि भने प्रत्यक्ष भेटेर पनि भने तपाईको अध्यक्षसँग फोन सम्पर्क हुन सकेन । अब हामी कसरी समन्वय गरेर जान सक्छौं त ?’
‘कहिले कसलाई प्रमुख अतिथि बनाउनु पर्ने प्रस्ताव, कहिले कस्लाई बनाउनु पर्ने प्रस्ताव आउँदा आउँदै माप्य दुधकोशी र खुम्बुबासी आम जनतालाई सहज सडक प्रयोगबाट बञ्चित नहोस भनेर छिटोभन्दा छिटो कालोपत्रेको काम शुरु गरेको हो ।’ शेर्पाले भने, ‘कालोपत्रे सकिएपछि को कसलाई के के बनाउनु पर्ने हो म सबै बनाउन र मान्न तयार छु । जनता विकासबाट बञ्चित नहोस भन्ने मात्रै मेरो मान्यता हो ।’
मेयर शेर्पाको सिल्गुडिडाँडाभन्दा टाक्सिन्दुतिर लैजाने मनसायले २ वर्ष बित्योः अध्यक्ष राई
माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सोलु दुधकुण्डका मेयर नाम्गेलजाङ्बु शेर्पाले सिल्गुडिाँडा-माप्य दुधकोशी-खुम्बु जोड्ने सडकलाईभन्दा टाक्सिन्दु जाने सडकलाई पहिले कालोपत्रे गरिनुपर्छ भनेर अडान लिएकाले कालोपत्रे गर्न ढिलाई भएको बताएका छन् । सडक कालोपत्रेको शिलान्यास मेयर शेर्पा एक्लैले एकलौटी रुपमा गरेको भन्दै विज्ञप्ती मार्फत बिरोध गरेका अध्यक्ष राईले पार्टीको नेताहरुको बचाउ गर्दै संघीय र प्रदेश सांसदलाई वेवास्ता गरेकोप्रति आक्रोश पोखेका छन् ।
‘मेयर शेर्पा र माप्य दुधकोशीवीच ३ बुँदे लिखित सम्झौता भएको थियो । त्यो सम्झौता मेयर सावले पालना गर्नु भएन ।’ अध्यक्ष राईले भने, ‘हामीले ३ बुँदे लिखित सम्झौतामाने प्रष्टसँग उल्लेख गरेका छौं, सडक कालोपत्रे शिलान्यास शुरु गर्दा पूर्व माननीय, वर्तमान माननीय र दुई स्थानीय तह, सोलु दुधकुण्ड र माप्य दुधकोशीका जनप्रतिनिधीहरुको संयुक्त उपस्थितिमा शिलान्यास कार्यक्रम प्रारम्भ गर्ने लिखित सम्झौता गरेका छौं ।’
माप्य दुधकोशी र सोलु दुधकुण्ड नगरपालिकाबीच भएको लिखित सम्झौताः