इन्डो–प्यासिफिक’ सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

0 Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म अमेरिकी सेना र भारतीय सेनाले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनम सहभागी हुन शर्मा आज दिल्ली प्रस्थान गरेका हुन् ।

पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो(प्यासिफिक’ भनिएको छ । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी छन् ।

उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् ।

नेपाली सेनाले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको थियो, यसपटकको सहभागिता त्यसैको निरन्तरता भएको बताएको छ ।

सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुने छन् भने नेपाल सहित १५ देशका सेनापतिहरू सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बङ्गलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मङ्गोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू सम्मेलनमा सहभागी हुन दिल्ली आउने कार्यक्रम रहेको छ ।

‘इन्डो–प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्ष मनोज पाण्डेले निमन्त्रणा पठाएका थिए ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार