२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

३ दिने घुम्ती सेवामा ८२ जना तिङ्लालीले लिए सेवा



काठमाडौं । नेपाली कांग्रेस तिङ्ला काठमाडौं सम्पर्क समितिको व्यवस्थापनमा ३ दिने घुम्ती सेवामा ८२ जना सेवाग्राहीले सेवा लिएका छन् ।

सोलु दुधकुण्ड नगरपालिका वडा नं. ११ ले काठमाडौंमा बसोबास गरिरहेका वडाबासीलाई मध्यनजर राखी सम्पर्क समितिको व्यवस्थापनमा ३ दिने घुम्ती सेवा प्रदान गरेको हो । घुम्ती सेवामा पञ्जिकरण सम्बन्धी सबै कामहरु गरिएको थियो ।

घुम्ती सेवामा जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइँ, जग्गाको तीरो लगायत वडाबाट प्रदान गरिने अन्य सेवाहरु दिइएको वडा अध्यक्ष टंक कार्कीले बताए । ‘काठमाडौंमा बसोबास गरिरहेका वडाबासीको समस्यालाई मध्यनजर गर्दै हामीले ३ दिने घुम्ती सेवा सञ्चालन गरेका हौं,’ वडा अध्यक्ष कार्कीले भने, ‘वडाबाट प्रदान गरिने सम्पूर्ण कामहरु अनलाईनबाटनै सञ्चालन गर्नुपर्ने भएपछि जहाँबाट पनि सेवा दिन सजिलो हुने भएकाले हामीले तिङ्लाबासीलाई काठमाडौंबाटै सेवा दिएका हौं ।’

३ दिने घुम्ती सेवा काठमाण्डौको कोटेश्वर भाटभटिनीसँगै रहेको ड्रीम हाउस इन्जिनियरिङ कन्स्लटेन्सीको कार्यालयबाट सेवा दिइएको थियो । अबको दिनमा पनि वर्षको कम्तीमा २ पटकसम्म काठमाडौंमा घुम्ती सेवा सञ्चालन गरिने पनि अध्यक्ष कार्कीले बताए ।

यसैबीच साेलु दुधकुण्ड नगरपालिका वडा नं. ११ ले ३ दिने घुम्ती सेवासँगै दशैँ, तिहार र छठपर्वको शुभकामना पनि प्रदान गरेको छ । घुम्ती सेवाको अन्तिम दिन सेवाग्राही लगायत उपस्थित जनप्रतिनिधी र कर्मचारीबीच एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरिएकाे वडा अध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ०० बजे