खगिन्द्रराज बास्तोला । थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिम थुलुङ दुधकोशी गाउँपालिकाको वीरेन्द्रोदय मा वि मुक्लीमा आजबाट सुरु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका भित्रका आधारभूत तह कक्षा १–३ मा शिक्षण गर्ने शिक्षक र विद्यालयका प्रधानाध्यापहरु गरेर ९६ जना तालिममा सहभागी भएको शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले जानकारी दिए ।
रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा संचालित तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष असिमराईले गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले शिक्षक मिहिनेती र उर्जाशील हुनुपर्ने बताउनु भयो । पाठ्यक्रम शैक्षिक क्रियाकलापको मार्गदर्शन भएकोले शिक्षण क्रियाकलापलाई व्यवहारिक र उपलब्धीमूलक बनाउन शिक्षकहरुले पाठ्यक्रमको अध्ययन गर्न आवश्यक र अनिवार्य रहेको जानकारी दिनुभयो । अध्यक्ष राईले थुलुङ दुधकोशीको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न महत्त्वपूर्ण शैक्षिक क्रियाकलाप संचालन गर्दै आएको स्मरण गराउदै त्यही कार्यक्रमको निरन्तरता यो तालिम रहेको बताए । नमूना पालिका निर्माणको मुख्य एजेन्डाहरुमा समेत शिक्षा क्षेत्र उच्च प्राथमिकतामा रहेको बताउदै सम्पूर्ण प्र.अ. तथा शिक्षकहरुलाई सक्रिय भएर आफ्नो एजेन्डा सफल पार्नका लागि साथ दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता राई, वडान ६ का वडा अध्यक्ष महेन्द्रदीप राई, सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी, शिक्षा विकास अधिकृत सुजाता राई, विष्णु प्रसाद उपाध्याय, अभिषेक विक्रम शाह र जुनु हिराचनले गरिरहेका छन् । तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, व्यवहार कुशल सिप, एकीकृत शिक्षण सिकाइ सहजीकरण योजना निर्माण तथा अभ्यास र विद्यार्थी सिकाइ मूल्यांकनलगाएतका विषयमा जोड दिने रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।