२६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

कलाइस शिविरमा थप शरणार्थीलाई प्रवेश अनुमति नदिइनेःअलान्द



पेरिस (फ्रान्स), १६ कात्तिक । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले भर्खरै फ्रान्सको कलाइस शिविरबाट केही शरणार्थीहरुलाई अन्यन्त्र लगिएको भन्दै अब उक्त ठाउँमा थप शरणार्थीलाई बसोबास गर्न नदिइने बताउनुभएको छ ।

कलाइस विगत केही समयदेखि व्यापक कानूनहीन अवस्थामा रहेको बताउँदै राष्ट्रपति अलान्दले अब यस क्षेत्रमा विदेशी नागरिकलाई शिविर बनाई बसोबास गर्न दिइने छैन ।

मङ्गलबार प्रकाशित फ्रान्सेली पत्रिका ला भोक्स डु नोर्डलाई दिएको अन्तरर्वातामा फ्रान्सका राष्ट्रपति अलान्दले भन्नुभयो, “मैले कलाइसका बासिन्दालाई उक्त ठाउँमा नयाँ बस्ती बस्ने छैन भनेर कबुल गरेको छु । यहाँ नयाँ वस्ती बस्ने कुनै सम्भावना छैन ।”

उहाँले कलाइस क्षेत्रमा कन्टेनरमा घर बनाई शरणार्थी जीवन विताइरहेको किशोरकिशोरीलाई एक दुई दिनभित्र सुरक्षित सेवा सम्पन्न शरणार्थी शिविरमा लगिने छ । त्यहाँ बेलायती अधिकारीले आफ्नो चासोका मुद्दालाई अध्ययन गर्ने प्रबन्ध मिलाइने छ ।

फ्रान्सले कलाइसबाट शिविर हटाएर अन्यन्त्र लग्दा त्यहाँ बस्दै आएका केही अभिभावकहीन शरणार्थी किशोरकिशोरीले आफ्ना आफन्त तथा मान्यजन बेलायतका विभिन्न ठाउँमा बस्दै आएको बताउँदै आफूहरु त्यहाँ जान पाउनुपर्ने भन्दै कलाइसबाट अन्यन्त्र सर्न अस्वीकार गरेका थिए ।

फ्रान्सेली अधिकारीले कलाइस क्षेत्रबाट शरणार्थीको अन्तिम समूहलाई सोमबार स्थानान्तरण गरिसकेका छन् ।

फ्रान्सका राष्ट्रपति अलान्दले बेलायतले नयाँ फ्रान्सेली शिविरमा राखिने बेलायतमा आफन्त भएको बताउने अभिभावकहीन किशोरकिशोरीलाई बेलायतले छानबिन गरी न्याय दिलाउनेमा अलान्दले विश्वास राखेको आफ्नो अन्तर्वार्तामा बताउनुभएको छ । रासस/एएफपी

प्रकाशित मिति : १६ कार्तिक २०७३, मंगलबार  ३ : ०२ बजे