बाल अनाथालयलाई खर्च चलाउन गाह्रो

0 Shares

कञ्चनपुर, १७ कात्तिक । सरकारी अनुदान रोकिँदा कञ्चनपुरको महेन्द्रनगरमा रहेको समाजकल्याण अञ्चल बाल अनाथालयलाई खर्च धान्न गाह्रो परेको छ ।

तीन वर्षदेखि बाल अनाथालयलाई उपलब्ध हुँदै आएको अनुदान रोकिएपछि संस्थागत र व्यक्तिगत रुपमा आउने दान दातव्यबाट अनाथालय सञ्चालन हुँदै आएको छ । दाताले दिएको खाद्यान्न, लत्ताकपडा र फलफूलमा निर्भर हुनु परेको बाल अनाथालयका उपाध्यक्ष दयाकृष्ण जोशीले बताउनुभयो । सरकारले विसं २०५७÷०५८ सालसम्म अनाथालयलाई रु आठ लाखका दरले बर्सेनि अनुदान रकम उपलब्ध गराउँदै आएको थियो ।

“त्यसपछिको राजाको प्रत्यक्ष शासनका बेला अनुदान रकममा कटौती गरी रु एक लाख ४० हजार मात्रै अनुदान उपलब्ध गराउन थाले पनि हाल तीन वर्षदेखि अनुदाननै उपलब्ध गराउन बन्द गरेपछि समस्यामा परेका छौँ”, उपाध्यक्ष जोशीले भन्नुभयो । आर्थिक अभावमा अनाथालयमा बस्दै आएका बालबालिकाको खर्चको व्यवस्था मिलाउनका लागि उधारोमै काम चलाइँदै आएको छ । अनाथालयमा बस्दै आएका बालबालिकाको खर्च व्यवस्थापन गर्दा रु आठ लाख बढी ऋण लागेको अनाथालयका कोषाध्यक्ष लवराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार अनाथालय सञ्चालन गर्न वार्षिक रुपमा रु ३० लाखभन्दा बढी रकम आवश्यक पर्दछ । अनाथालयलाई जिविस कञ्चनपुरले रु दुई लाख, भीमदत्त नगरपालिकाले रु एक लाख, दुई जना समाजसेवीले रु पाँच÷पाँच हजार रकम वार्षिक रुपमा प्रदान गर्दै आएका छन् ।

मालपोत रजिस्ट्रेसन र यातायात कार्यालयका फाराम बिक्रीबाट आउने केही रकम बाल अनाथालयलाई उपलब्ध हुने गरेको छ । विसं २०४९ मा स्थापना भएको बाल अनाथालयमा २७ बालबालिका बस्दै आएका छन् । अनाथालयको भवनसमेत जीर्ण हुँदा झनै समस्या भएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार