काठमाडौं । सरकारले असारको २५ दिनमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । २५ असार बिहानसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।
१ असारका दिन ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो । यसआधारमा बाँकी २५ दिनमा सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ ।
सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सरकारले कुल लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च गरेको छ ।
सरकारी कार्यालयमा आएर रोकिएका बिल बाहेक अब नयाँ भुक्तानी हुने छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनु एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नु पर्छ । सोहीकारण सरकारले सबैभन्दा बढी भुक्तानीको चाप सोमबार बेहोरेको छ ।
२३ असारका दिन १२ खर्ब ९८ अर्ब रहेको सरकारी खर्च २४ असारमा १३ खर्ब २२ अर्ब पुगेको छ । २५ असार अर्थात् मंगलबार बिहानसम्म भने १३ खर्ब ५६ अर्ब रुपैयाँ खर्च पुगिसकेको छ । यसआधारमा सरकारले सोमबार एकै दिन ठूलो भुक्तानी गरेको हो ।
नियमावली अनुसार अबको एक सातामा सरकारले आफूसँग बिल आइसकेको मात्र थप भुक्तानी गर्नेछ । यसबाहेक अत्यावश्यक भुक्तानीको बाटो भने खुला नै छ ।
पछिल्लो प्रवृत्तिले असारमा भुक्तानी कम गराउने सरकारको घोषणा पुनः नारामै सीमित हुन पुगेको छ । हरेक आर्थिक वर्षमा सरकारले पुँजीगत खर्चको ३० प्रतिशत माथि भुक्तानी असारमा गर्दै आएको छ ।