संसदमा प्रश्नोत्तर प्रधानमन्त्रीको जवाफमा, सभामुखको रुलिङ

  सगरमाथा अनलाइन
42 Shares

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन दिएका छन् ।

सोमबार प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए । उनले सरकारले बजेटमा घोषणा गरेको गण्डकी त्रिभुज आयोजना अन्तर्गत बुटवल, पोखरा राजमार्ग दुई लेन बनाउने भनिएको तर त्यो काम कहिले सुरु हुने र कहिले सक्ने लक्ष्य छ भनेर सोधे ।

त्यस्तै उनको दोस्रो प्रश्न थियो– आँधीखोला उच्च बाँध आयोजनाको वर्तमान अवस्था के छ र कहिले देखि सुरु गर्ने तयारी छ रु

गुरुङ्गको तेस्रो प्रश्न थियो, –गैरकानुनी कारोबार अन्त्य गर्न सरकारको तयारी के छ रुत्यसपछि जवाफ दिन सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा बोले ।

उनले आफूले उद्योगीले विद्युत महसुल तिर्नुपर्दैन नभनेको तर संसदमा यस विषयमा प्रश्न उठाएको भन्दै आपत्ति जनाए । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सुरु नहुँदै शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले डेडिकेटेड र ट्रं«कलाइन विवादमा प्रधानमन्त्रीले संसदमा झुटो बोलेको आरोप लगाएका थिए ।
सो आरोप प्रति प्रधानमन्त्री ओलीले संसदमा जथाभावी प्रश्न सोध्न नहुने भन्दै मर्यादा ख्याल गर्न आग्रह गरे । ‘हामी गरिमामय संसदमा छौं । हामी जनताले छानेर पठाएका सांसदले त्यस हैसियतमा बोल्नुपर्छ । कहिले सुन होइन पित्तल चढाएको छ भनेको छ, कहिले अनेकथरि फोटा छपाएको छ, अनेक गरेको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन, सत्य कुरा गर्न सिक्नुपर्छ’, ओलीले भने ।

प्रधानमन्त्री त्यतिमै रोकिएनन्, उनले आफूमाथि झुटा लाञ्छना लगाइएको भन्दै संसदमा हल्काफुल्का विषय, झुटा र पूर्वाग्रहीपूर्ण कुरा उठेको भन्दै सभामुखको ध्यानाकर्षयण गराए ।

‘सभामुख महोदय, मेरो निवेदन यो गरिमामय सदन सदनजस्तै होस्, हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल यहाँ उठेका विषय, यहाँ उठेका प्रश्न यति हल्काफुल्का झुटा पूर्वाग्रहीपूर्ण हुनुहुँदैन । सुन भनेर पित्तल चढायो भनेजस्ता हावादारी कुरा यस गरिमामय संसदमा नगरियोस्’, उनले भने ।

प्रधानमन्त्रीले यति भनेपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गरे । सभामुखले समय दिएपछि उनले सोधे, ‘प्रधानमन्त्रीले कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गर्नुपर्छ होला, उहाँ प्रश्न उत्तरमा हुनुहुन्छ ।’

त्यसपछि सभामुखले भने, ‘माननीय ज्यू आसनग्रहण गरौं, मैले त्यतै लान कोशिस गरिरहेको छु ।’ तर प्रधानमन्त्रीले आफू प्रश्नोत्तरमै रहेको र उठेका प्रश्नको जवाफ दिइरहेको जवाफ दिए । त्यसपछि संसदमा केही होहल्ला पनि भयो, एमाले प्रमुख सचेतक महेश बर्तौला पनि उठेर सभामुखसँग समय मागे । तर सभामुखले कसैलाई समय दिएनन् ।

उनले माओवादी सांसद पुनलाई बस्न आग्रह गरे र प्रधानमन्त्रीलाई भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’

प्रधानमन्त्री ओलीले भने आफू विषयमा नै केन्द्रित रहेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार