जेसिजद्वारा मिर्गौला रोग पीडितलाई सहयोग

0 Shares

पर्वत, १८ कात्तिक । मिर्गौलाको रोगबाट पीडित एक युवतीलाई पर्वत जेसिजले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–४ की २० वर्षीया युवती सङ्गीता बास्तोलालाई पर्वत जेसिजले नगद रु ३५ हजार सहयोग गरेको हो । चितवन मेडिकल कलेजमा फार्मेसी अध्ययनरत युवती बास्तोला २०७२ साउनदेखि मिर्गौलाको रोगबाट ग्रसित बनेकी हुन् ।

आर्थिकरुपमा निम्नवर्गीय परिवारमा जन्मेकी बास्तोलाको उपचारमा सहयोग मिलोस् भन्ने उद्देश्यले जेसिजका पदाधिकारीले आफँै रकम सङ्कलन गरेर सहयोग गरेका हुन् । जेसिजको वर्तमान कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्य, पूर्वअध्यक्षहरु लेखनाथ शर्मा र बद्रीनारायण शर्माबाट सङ्कलन गरिएको रकम पीडितका बाबु टङ्कनाथ शर्मालाई बुधबार हस्तान्तरण गरिएको हो ।

बास्तोलाको राजधानीमा उपचार भइरहेको छ । चिकित्सकले बाँस्तोलाको मिर्गौला तत्काल प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएपछि उनकै बाबु टङ्कनाथले एउटा मिर्गाैला दिने तयारीसमेत भइरहेको छ । यसै साता उनको मिर्गौला प्रत्यारोपण गने तयारी भइरहेको छ ।

सामान्य परिवारकी उनको उपचारका लागि लाखौँ रुपैयाँ खर्च लाग्ने भएपछि उपचारका लागि सबै निकायलाई आवश्यक सहयोग गरिदिन पीडितका बाबुले अपिल गर्नुभएको छ । उहाँको मिर्गाैला प्रत्यारोपण गर्न बाबु टङ्कनाथ शर्माले नै आफ्नो मिर्गाैला दिने तयारी पनि भएको छ । पेसाले शिक्षक शर्माले छोरीलाई बचाउनका लागि आफैँ मिर्गौला दिने सोच बनाउनुभएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा जेसिजका अध्यक्ष राजनकुमार जोशीले पीडित युवतीका बाबु टङ्कनाथलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

अध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन मुना शर्मा लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा जेसिजका तालिम प्रतिष्ठानका संयोजक लेखनाथ शर्मा, क्लबका अध्यक्ष ठाकुर बी पौडेल लगायतले बोल्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार