ग्रिनभिलमा अवस्थित चर्चमा आगलागी

0 Shares

मिस्सिस्सिपि, संयुक्त राज्य अमेरिका, १८ कात्तिक । अमेरिकाको मिस्सिस्सिपि राज्यको मिस्सिस्सिपि रिभर सिटीको ग्रिनभिल उपनगरमा अवस्थित होपवेल मिसनरी बापिस्ट चर्चमा रातको समय पारी बुधबार अज्ञात व्यक्तिबाट आगजनी भएको छ ।

दुई सय सदस्य रहेका सो अफ्रिकी–अमेरिकीको चर्चको बाहिरी भित्तामा हालसालै ठूलठूला अक्षरमा “भोट ट्रम्प” शव्दहरु लेखिएका थिए । आगलागीबाट मानव क्षति नभए तापनि भौतिक संरचना र अधिकांश भौतिक सम्पत्ति नराम्ररी जलेर नष्ट भएका छन् ।

भित्तामा पोतिएका रङ्ग सबै डढेर चर्च कालाम्य भएको, केही झ्याल पनि डढेका, सभाकक्ष भित्रको पवित्र पल्पिट टेबुल तथा पिउ बालिस्टर, भोजनालय र पास्चरको अध्ययन कक्षका सरसामान र अन्य धेरैथरी सरसामान जलेर खरानी हुँदा चर्चका भौतिक सम्पत्तिमध्ये लगभग असी प्रतिशत नष्ट भएको अनुमान गरिएको छ ।

बदनियतपूर्वक कुनै बदमाशले जानाजानी यस्तो आगजनी काण्ड गराएको आशङ्कामा मिस्सिस्सिपि राज्यका अग्नी नियन्त्रण प्रमुखले घटनाको पहिलो सूचना, सुइँको दिने व्यक्तिलाई एघार हजार अमेरिकी डलर धनराशीको पुरस्कार घोषणा गरेका छन् ।

आगो निभाउन बारुणयन्त्र प्रयोग गर्दा हडबडमा केही थप क्षति हुन गएको बताइएको छ । दमकलको होसपाइपबाट निस्केको पानीको तीव्रगतिको फोहोराले चर्चको भोजनालय र पास्चरको अध्ययन कक्षलाई थप क्षति पु¥याएको छ । जम्मै आगो निभाउन बाह्र मिनेट मात्र लागे तापनि तात्तिएका ठाउँ चिस्याउन करिब डेढघण्टा लागेको थियो ।

सार्वजनिक पवित्रस्थलमा जानाजानी गरिएको यस्तो कुकार्यलाई ग्रिनभिल नगरका मेयर एरिक साइमन्सले ए्पी संवाददातासँगको फोन अन्तर्वातामा “भित्ते लेखन र आगजनी दुबैलाई जघन्य, कायरतापूर्ण र घिनलाग्दो सामाजिक अपराध” भनेका छन् ।

अमेरिकी सङ्घीय अनुसन्धान केन्द्र (एफबिआइ) र मिस्सिस्सिपि ब्युरो अफ इन्भस्टिगेसनले यस भित्तेलेखन र आगजनी काण्डको निष्पक्ष छानबीन, अनुसन्धान सुरु गरिसकेका छन् । राजनीतिक सन्देशले कसैलाई पाठ, पूजा, ध्यान, किर्तन नगर भन्दैन ।

तर यहाँ स्वतन्त्रतापूर्वक धर्मयापन गर्नबाट राजनीतिको नाममा जनतालाई बिथोल्ने अपराध भएको मेयर एरिक साइमन्सले बताए । मिस्सिस्सिपि रिभर सिटी उपनगरका ३२ हजार एकसय स्थानीय वासिन्दामध्ये अफ्रिकी मूलका अमेरिकी ७८ प्रतिशत छन् ।

यता, मिस्सिस्सिपिका निर्वाचन उच्च अधिकारी, राज्यका सचिव, रिपब्लिकन पार्टी समर्थक डेल्बर्ट होसम्यान भने यस घटनालाई वर्तमान राजनीतिक हलचलसँग जोड्न नहुने बताउँछन् । “घटनाको अनुसन्धान नतिजा नआउँदै एकैचोटी उफ्रेर चर्चलाई भोटको राजनीतिमा मुछेको भनी कुर्लनु अनुचित हुन्छ । प्रारम्भिक प्रतिबेदनबाट यो घटना राजनीतिक प्रकृतिको नभएको” भन्ने होसम्यानले टिप्पणी गरे ।

उता, ग्रिनभिललगायत मिस्सिस्सिपि राज्यका अन्य जिल्ला, नगर तथा उपनगरसमेत अनुगमन गर्ने राज्यप्रतिनिधि, डोमोक्र्याटिक पार्टी समर्थक बेनि थोम्सनको भनाइ आफ्नै पाराको छ । चर्चको भित्तेलेखन र आगलागी काण्डले मिस्सिस्सिपि राज्यमा रिपब्लिकनहरुले थप काला दिन बेहोर्नुपर्ने सङ्केत दिएको भनी थोम्सन बताउँछन् । रासस/एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार