काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले सोलुको नेपाली कांग्रेसमा धमिरा लागेकाले औषधी छर्केर मार्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै देशैभरि नेपाली कांग्रेसमा धमिरा लागेको भएतापनि सोलुमा त झनै धेरै धमिरा लागेकाले औषधि छर्किनुको विकल्प नरहेको बताएका हुन् ।
‘सोलु जिल्ला कांग्रेसको किल्ला हामीले निर्माण गरेका थियौं । तर, धमिरा पस्यो । त्यो धमिराले त सालको काठलाई पनि खादो रहेछ ।’ पूर्वमन्त्री केसीले भने, ‘हामीसँग १४ हजारभन्दा बढि मत हुँदाहुँदै पनि चुनाव हारियो । यदि ती पार्टिभित्रका धमिराहरु नभएको भए हामीले सजिलै चुनाव जित्ने थियौं ।’
‘देशभरिनै कांग्रेसमा धमिरा लागेको छ । ती धमिरालाई नमारेसम्म कांग्रेस लयमा हिड्न गाह्रो छ ।’ केसीले भने, ‘कांग्रेसमा लागेको धमिरा औषधि छर्केर मार्नुपर्छ । त्यसको शुरूवात सोलुबाट गर्नुपर्छ । तपाईहरु ढुक्क भएर पार्टि निर्माणमा लाग्नुस अब के गर्नुपर्छ म योजनासहित सोलुखुम्बुका सबै क्षेत्रमा पुगेर कांग्रेसका लागि जीवनभर सहयोग गरिरहनेहरुसँग सल्लाह गरेर अगाडि बढ्छु ।’
‘अब कांग्रेस बचाउनको लागि हामीले बैंकमा एउटा खाता खोल्दैछौ दँशैपछि । तपाईंहरुले १ सयमात्रै त्यो खातामा लगाउनुस । यस्तो किन गरेको भनेर भन्नुहोला । यो हाम्रो अबको निर्वाचनको लागि एउटा महाअभियान हो ।’ उनले भने, ‘भनेको कांग्रेस बचाउ अभियान शुरू गर्नुको लागि यस्तो कदम चालिएको हो ।’
एक अर्को प्रशंगमा पूर्वमन्त्री केसीले २२ वर्ष अघि पर्यटन मन्त्री हुँदादेखि अहिलेसम्म सिन्डिकेटको रुपमा रहेको टान निर्वाचन यस पटकबाट तोडिएको बताए । ‘म २२/२३ वर्ष अघि मन्त्री हुँदादेखिनै टानमा केहि विचौलियाको सिन्डिकेट थियो । त्यो सिन्डिकेट अझैसम्म झनै झाँगिएर बसेको थियो ।’ केसीले भने, ‘त्यो झाँगिएर बलियो भएको सिन्डिकेटलाई तोड्न सफल हुनु भएकोमा चोलेन्द्रजीलाई धन्यवाद दिन चाहन्छु । त्यो सिण्डिकेड तोड्न चोलेन्द्रजीले अगुवाई गर्नुभयो । उहाँ निर्वाचनमा त हार्नुभयो तर, मुद्धा जित्नु भएको छ । लामो समयदेखि एकलौटी रुपमा आएको सिन्डिकेट तोड्न सफल हुनुभएको छ । त्यसैले म फेरी पनि चोलेन्द्रजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’
नेपालको ऐतिहासिक जिल्ला गोर्खा र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला सोलुखुम्बुका व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको केसीले बताए । ‘अर्को पटकको टान निर्वाचनपछि चोलेन्द्रजीलाई यसैगरी खादा र माला लगाउदै बधाई दिन पाउ ।’ उनले भने ।
नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले पर्यटन क्षेत्रमै आफ्नो रोजिरोटी भएकाले लामो समयदेखि जेलिएको टानको सिन्डकेट यस पटकबाट तोडिएको बताए । ‘मेरो रोजिरोटि पर्यटन क्षेत्र नै हो । त्यसैले लोमो समयदेखि झाँगिदै आएको एकल सिन्डिकेट यसपालिबाट सदाका लागि तोडिएको छ ।’ सांसद बजगाईले भने, ‘सोलुमा कांग्रेसको एक नेताले पार्टीको हरेक कुरामा असहयोग गर्छ । जहिल्यै निर्वाचन हराउने एक नेता छ । चोलेन्द्रजीलाई पनि अनुशासनको कारवाही गर्ने भनेर भन्दै थियो रे । कुन नैतिकताले उहाँलाई कारवाहि गर्ने क्षमता राख्छन् । आफ्नो पार्टीलाई हराएर एमाले जिताउने उहाँ नै होइन । अझै पनि उहाँनै कारवाहि गर्छु भनेर भन्दै हिड्नु लज्जाको विषय हो ।’
कालापथत्थरमा जलवायु परिवर्तनको असरबारे क्याविनेट बैठक राख्न पर्यटन संस्थाको तर्फबाट सबैभन्दा पहिले एजेण्डा इन्डोर्स गरेको बजगाईले बताए ।
पछिल्लो समय सोलुको राजनीतिमा जातिय राजनीति हावि भएको भन्दै बजगाईले अहिलेसम्म कहिल्यै कांग्रेस नहारेको सोलुमा कांग्रेसले नै चुनाव हराएकोप्रति चिन्ता व्यक्त गरे ।
नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाशसिं कार्कीले टान निर्वाचनमा धेरै प्रयास गरेर मात्रै एकल सिन्टिकेट तोड्न सफल भएको बताए । ‘पर्यटक श्रमिकहरुको दुःखसुख हेर्ने संस्थानै यस्तो जञ्जालमा फसेपछि विदेशी पर्यटकहरुमा नेपालको पर्यटक श्रमिकप्रति जाने दृष्टिकोणले पर्यटन क्षेत्रमा असर पार्छ,’ नेता कार्कीले भने, ‘पर्यटन क्षेत्रको महत्व र श्रमिकको श्रम बुझ्न नसक्ने नेतृत्व टानमा पुगेपछि पर्यटक भरियाले विदेशीलाई राम्रो व्यवहार गर्न सक्दैनन् । राम्रो व्यवहार नपाएपछि विदेशीहरुप्रति नकारात्म सन्देश जान्छ ।’
पर्यटकीय क्षेत्र थामे गाउँमा गत साउन ३२ गते आएको बाढिले पुर्याएको क्षेति तत्काल पुनः निर्माणमा लाग्न समेत कार्कीले सरोकारवालासँग आग्रह गरे । थामे गाउँमा भत्किएका घर, होटल, लज र विद्यालय तत्काल पुनः निर्माण गरिदिनु पर्ने कार्कीको भनाई छ ।
‘नेपाली कांग्रेसकै गृहमन्त्री भएकाले पहल गर्न धेरै सजिलो छ । हामीले अब आउने पर्यटन सिजन शुरु हुन अगावै थामेमा पुनः निर्माण गरिसक्नका लागि सरकारसँग पहल गर्नुपर्छ,’ नेता कार्कीले भने, ‘गठबन्धनको सरकार भएकाले स्थानीय, प्रदेश र केन्द्रबाट तत्काल सो क्षेत्रमा भत्किएका पुल, बाटो र अन्य भौतिक संरचनाहरु पुनः निर्माण गर्नुपर्छ ।’
एक अर्को प्रशंगमा नेता कार्कीले नेपाली कांग्रेस सोलुखुम्बुमा नयाँ क्रियाशील सदस्हरू पाउन विधि र विधनाअनुसार वितरण गर्नुपर्ने बताए । ‘म सुन्दैछु अहिलेको अवस्था हेर्दा क्रियाशील नयाँ सदस्य विधि र पद्वति अनुसार हुने अवस्था नआएको हो कि भन्ने भान भएको छ, कार्कीले भने, ‘पार्टीका नेताहरु सबैसँग राम्रोसँग छलफल गरेर मात्रै जिल्लाको सक्रिय रुपमा पार्टिमा लागेका सबैलाई नयाँ क्रियाशील सदस्य वितरण गर्नुनै पार्टिको हितमा हुन्छ ।’
कांग्रेस सोलुका पूर्वसभापति विनोद वस्नेतले टानमा वर्षौंदेखि जकडिएको सिन्डिकेट तोडिएकोप्रति खुशि व्यक्त गरे । ‘केही व्यत्तिले पर्यटन क्षेत्रमा होइन, नेता र आफ्नै फाईदाको लागि मात्रै काम गरे । खल्ती भरे,’ पूर्वसभापति बस्नेतले भने, ‘व्यवसायिक प्यानलले टान निर्वाचनमा विजयी भएकाले सम्मान गरिएको हो । त्यत्ति मात्रै होइन त्यो सिन्डिकेट तोड्ने अभियानलाई पनि सम्मान गरिएको हो ।’
एक अर्को प्रशंगमा पूर्वसभापति बस्नेतले सोलु कांग्रेस औंसी पूर्णिमाको बेला लाग्ने मेला जस्तो मात्रै भएको बताए । ‘अब सोलु नेपाली कांग्रेसले २०८४ को निर्वाचन लक्ष्यित कार्यक्रम गर्नुपर्छ । नेपाली कांग्रेसलाई सोलुमा बचाउन लगातार लागिरहेका साथीहरू दृढताका सात अगाडि बढ्नुस । अब हामी निरन्तर रुपमा जिल्ला व्यापी कार्यक्रम ल्याउने छौं, बस्नेतले भने, ‘अब पर्खेर बस्ने समय छैन । ढिला भैसक्यो । अब हामी कार्यक्रम लिएर जनताको घरदैलोमा आउनेछौ । पार्टीको काम छोडेर घामतिर लाग्नेलाई हामीले राम्रोसँग नियालिरहेका छौं । त्यसको उचित क्षतिपूर्ति लिनेछौ, तिराउने छौं ।’
नेपाली कांग्रेस सोलुका पूर्वपार्टी उपसभापति प्रेम थापामगरले सोलुखुम्बुमा पार्टी खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । ‘२०३६ सालको कमाण्डर बलबहादुर केसी जहाँ उभिनु भएको छ, नेपाली कांग्रेस त्यहाँ छ । आजको कार्यक्रममा सोलुखुम्बु जिल्लाभरिकै नेताहरू उपस्थिति हुनुहुन्छ, थापामगरले भने, ‘सालको काठलाई पनि धमिराले खाने भएकाले समयमै धमिरालाई मार्नु पर्छ । हाम्रो जिल्लामा धेरै त होइन केहि थान धमिराहरु छन् । ती धमिराको समयमै उपचार गर्नुपर्छ । अनिमत्रै पार्टी ठिक बाटोमा आउँछ ।’
आउने २०८४ को निर्वाचनमा पार्टीलाई विजयी गराउन अहिलेदेखिनै सोलुखुम्बुका जनतासामू गएर विभिन्न कार्यक्रमहरु गर्नुपर्ने मगरले बताए । सोलुखुम्बु जिल्लाबाट टानमा निर्वाचित ६ जनालाई पदाधिकारी र सदस्यहरुलाई मगरले बधाई दिए ।
कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले टानको नयाँ नेतृत्व सिण्डिकेट तोड्न सफल भएकोमा बधाई दिदै नेपालको पर्यटन क्षेत्रमा अब परिवर्तन हुने विश्वास व्यक्त गरे ।
एक अर्को प्रशंगमा अध्यक्ष बस्नेतले सोलुखुम्बु जिल्लाको नेपाली कांग्रेसको नेतृत्वले काम गर्न नसकेको आरोप लगाए । ‘गठबन्धनमा चुनाव लड्दा पनि असयोगका कारण हार बेहोर्न पर्यो, बस्नेतले भने, ‘जिल्ला स्थित सबै क्षेत्रमा छलफल गरेर जाने कार्यक्रम भएको थियो । तर, जिल्लाको नेतृत्व शीथिल भएकाले त्यो सफल हुन सकेन ।
नेपाली कांग्रेस पार्टी बनाएर हिड्नेहरूलाई जिल्ला नेतृत्वले अनावश्य हस्तक्षेप गरेको समेत बस्नेतले आरोप लगाए । ‘पार्टीका लागि काम गरिरहेकाहरु अनावश्यक दवाव झेल्नु परेकाले पार्टी छोड्ने अवस्थामा केही नेताहरू पुगेका छन्, उनले भने, ‘साथीहरु तपाईहरु पार्टी छोड्ने कुरा नगर्नुस । तिनीहरुको बाउको बिर्ता होइन कांग्रेस पार्टी । तपाई हामी सबैले दुःख गरेर बनाएको पार्टी हो ।’
सोलुखुम्बुमा कांग्रेसले कांग्रेसहरूसँग होइन एमालेसँगको प्रतिस्पर्धा हो । जिल्ला नेतृत्व एकल रूपमा चलेको छ । यदि सोलुखुम्बुमा कांग्रेस एक भएर लाग्ने हो भने कुनै पार्टीले कांग्रेसलाई हराउन सक्दैनन् बस्नेतले भने ।
सफल पर्यटन व्यवसायी तथा महाधिवेशन प्रतिनिधी आङछिरिङ शेर्पाले टानको स्थापनाकालको दुःख सम्झिदै भावुक बने । स्थापना कालमा ९ वटा मात्रै ट्रेकिङ कम्पनीबाट शुरु गरेको टान आज २५ सयभन्दा बढि ट्रेकिङ कम्पनीहरुको होडबाजी देख्दा खुशी लागेको व्यवसायी शेर्पाले बताए ।
‘तत्कालीन समयमा पदाधिकारी र सदस्यहरू राख्नको लागि लौन बसिदिनुस भनेर हात जोड्नुपर्ने अवस्था थियो । तर अहिले त सदस्य बन्नको लागि पनि होडबाजी चल्छ, व्यवसायी शेर्पाले भने, ‘यत्ति धेरै ट्रेकिङ कम्पनीहरू भएपछि अहिले पदाधिकारी र सदस्य बन्न निर्वाचनको विकल्प छैन ।’
टानका नवनिर्वाचित महासचिव सोनामग्याल्जेन शेर्पाले पर्यवतीय पर्यटनको छाता संगठनको गरिमामय पदमा विजयी गराउन अहोरात्र खट्नु हुने सबैलाई धन्यवाद दिए । ‘सबै जनाको धेरै मिहिनेत, परिश्रम र समयले नै हामीले चुनाव जितेका हौं, महासचिव शेर्पाले भने तपाईहरुले दिनु भएको विश्वास सँधै शीरमा राखेर समग्र नेपाली पर्यटन क्षेत्रको श्रीबृद्धिमा इमान्दार भएर काम गर्छु । तपाईहरुले मप्रति देखाउनु भएको माया र विश्वासलाई कहिल्यै घात गर्ने छैन् ।
कार्यक्रममा खुम्बुपासाङल्हामु गाउँपालिकाको निर्वाचनमा नेपाली कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार निर्मला थापामगरले उपस्थित सबैलाई स्वागत मन्तव्यद्धारा स्वागत गरेका थिए । ‘टान निर्वाचनमा विजयीहरूको विजयी नै हाम्रो विजयी भएको महशुस मैले गरेको छु,’ थापामगरले भने ।
कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आइ बसोबास गरेका सोलुखुम्बेलीहरुकाे उलेख्य उपस्थिति रहेको थियो ।
टान निर्वाचनबाट विजयी ६ जनालाई सम्मान
भर्खरै सम्पन्न टानको चुनावमा सोलुखुम्बु जिल्लाबाट निर्वाचित ६ जनालाई सम्मान गरिएको छ । नेपाली कांग्रेस खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको हो ।
नव निर्वाचित टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, प्रथम उपाध्यक्ष सनम शेर्पा, महासचिव सोनामग्याल्जेन शेर्पा र सचिव रिञ्जी शेर्पालाई सम्मान गरिएको छ । त्यसैगरी सदस्यहरुमा छाप्ते लामा र सागर राई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । सम्मान नेपाली कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बलबहादुर केसी, प्रतिनिधी सभाका सदस्य राजेन्द्र बजगाई, महाधिवेशन प्रतिनिधी प्रकाशसिंह कार्कीलगायतले सोलुखुम्बुबाट नवनिर्वाचित टानका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।
भेटघाट तथा सम्मान कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव युवराज घिमिरेले गरेका थिए । सञ्चालक घिमिरेले सोलुखुम्बुमा मात्रै होईन नेपालमा कांग्रेसका नेताहरु एक ढिक्का भए जुनसुकै निर्वाचनमा कुनै पार्टीले हराउन नसक्ने बताए ।