काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु, भत्तपुर र काठमाडौंमा मात्रै ९ जना बेपत्ता

  सगरमाथा अनलाईन
259 Shares

काठमाडौं । हिजोदेखि परेको अविरल वर्षाका कारण देशभर जनधनको ठूलो क्षती भएको छ । देशका विभिन्न ठाउँमा बाढि पहिरोका कारण ठूलो जनधनको क्षती भएको हो ।

काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।

पनौती नगरपालिका-११, वडासदस्य गीता थापाका अनुसार पहिरोले ३ घरमा पूर्ण क्षति पु¥याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको हो । ‘पहिरो झर्न रोकिएको छैन ।

बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ । त्यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा ५ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए ।

पाँचथरको फिदिम नगरपालिका-४ चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम-१२ घर भएका आमा-छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

पाँचथरको फिदिम नगरपालिका- १ साँगेबोटेमा पहिरो घर पुरिदा १ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका- १ कात्तिके घर भइ फुरुंगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ ।

फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।

धनकुटाको पाख्रीबास नगरपालिका- ५ आज बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ ।

काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १ जना महिला, २ जना पुरुष र १ जना बच्चा छन् ।

आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरुको खोजीकार्य जारी रहेको पनि थापाले बताए ।

भक्तपुर डुबानमा, ५ जना बेपत्ता

अविरल वर्षाले भक्तपुर पूरै डुबानमा परेको छ । पहिरो र बाढीमा परी करिब ५ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए ।

मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । घट्टेखोलाले पुल नै भत्काएको छ ।

भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन् ।

अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले डुंगा प्रयोग गरी जगाती लगायतका क्षेत्रबाट करिब ५० जनालाई उद्धार गरेको जानकारी दिए ।

नेपाली सेना, प्रहरी, भक्तपुर नगरपालिकाको जनप्रतिनिधि लगायतको टोली टोली डुबान प्रभावित क्षेत्रमा पुगेर उद्धारको काम जारी राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार