सोलुखुम्बु । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सोलुखुम्बुको क्षेत्रीय अध्यक्षमा राजकुमार थुलुङ र भुपाल खालिङले जिम्मेवारी प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको महासंघ सोलुखुम्बुको प्रदेश ‘क’ अध्यक्षमा थुलुङ र प्रदेश ‘ख’ अध्यक्षमा खालिङलाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस प्रदेश सभा ‘ख’का क्षेत्रिय सभापति कर्मा शेर्पाले बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ ९ गते लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका ४८ जना केन्द्रीय सदस्य मनोनयन गरेका थिए ।

विधान अनुसार लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय समिति ६८ सदस्यीय रहने व्यवस्था छ । सभापति देउवाले मनोनय गरेको ४८ केन्द्रीय सदस्यभित्र सोलुखुम्बुबाट २ जना सदस्य बन्न सफल भएका छन् । सोलुखुम्बुबाट केन्द्रीय सदस्यमा केसाङमु शेर्पा र चन्द्र खालिङलाई मनोनयन गरिएको थियो ।