काठमाडौं । काठमाडौंबाट पूर्वी नेपाल जान भरपर्दो सडक हो बीपी राजमार्ग । तर, असोज दोस्रो साता आएको वर्षा र त्यसले निम्त्याएको बाढी-पहिरोका कारण यात्रुले विकल्प खोज्नु पर्ने भएको छ । यसका लागि यात्रुलाई विकल्प बनेको छ, काठमाडौं-हैटौंडा सडक मार्ग ।
काठमाडौंबाट हेटौंडा पुग्न धेरै वटा विकल्पहरू छन् । तर, वर्षाका कारण काठमाडौं-हेटौंडा रुटका विभिन्न सडक पनि अवरुद्ध छन् । भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माका अनुसार बाढी-पहिरोले देशभर ३४ वटा राजमार्गको ८ सय ५ स्थानमा पहिरो गएको थियो । जसमध्ये ७ सय ७४ स्थानको पहिरो हटाएर राजमार्ग सुचारु गरिसकिएको छ । अझै पनि ५ मुख्य राजमार्गका ३१ स्थानमा अवरोध यथावत छ । जसमा सबैभन्दा धेरै मध्यपहाडी राजमार्गमा अवरोध देखिन्छ । दोस्रोमा बीपी राजमार्गमा अवरोध धेरै देखिन्छ । तेस्रोमा कान्ति राजपथ रहेको छ ।
काठमाडौंबाट हेटौंडा पुग्ने छोटो राजमार्गका रूपमा रहेको कान्ति राजपथ अवरुद्ध भएसँगै विकल्पमा अन्य राजमार्ग प्रयोग गर्न सकिन्छ । ट्राफिक प्रहरीका अनुसार विभिन्न स्थानमा पहिरो खसेका कारण बीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथ अवरुद्ध छ । अन्य नाकामा आवागमन सुचारु छ । तर, विकल्प खोज्दै हिँडेका सवारीसाधन लेनमा नहिँड्ने, तँछाडमछाड गर्ने प्रवृत्तिले भने अन्य सडकमा समेत सवारी साधनहरूको चाप देखिन्छ ।
हालका लागि काठमाडौंबाट चन्द्रागिरी-चित्लाङ-पालुङ-भैंसे हुँदै हेटौंडा पुग्न सकिन्छ । यसैगरी बाइरोडको सडक (त्रिभुवन राजपथ) अर्को विकल्प हो ।
अहिले रात्रिकालीन ठूला बस काठमाडौं-नारायणगढ-हेटौंडा रुटमा समेत गुड्ने गर्छन् । जुन अन्यको तुलनामा बढी लामो पर्छ । यो सडकमार्ग भएर कोशी प्रदेशका विभिन्न जिल्लामा यातायात सञ्चालन भैरहेको ट्राफिक प्रहरीले बताएका छन् ।
कान्ति लोकपथः सातदोबाटो-हेटौंडा (अवरुद्ध)
बल्खु-दक्षिणकाली-सिस्नेरी-कुलेखानी-भिमफेदी-हेटौंडा (अवरुद्ध)
बल्खु-दक्षिणकाली-फाखेल-कुलेखानी-भिमफेदी-हेटौंडा (अवरुद्ध)
चन्दागिरी-मार्खु-कुलेखानी-भिमफेदी-हेटौंडा (अवरुद्ध)
त्रिभुवन लोकपथः थानकोट-चन्द्रागिरी-चित्लाङ-कुन्छाल-पालुङ-सिमभञ्ज्याङ-भैंसे-हेटौंडा (सुचारु)
त्रिभुवन लोकपथः थानकोट-नौबिसे-पालुङ- सिमभञ्ज्याङ -भैंसे-हेटौंडा (सुचारु)
काठमाडौं-नारायणगढ-हेटौंडा (सुचारु)
भौतिक मन्त्रालयका अनुसार कान्तिलोकपथको घपेली-बगुवा खण्डको १३ किलोमिटर सडकमा क्षति पुगेको छ ।
साथै बागमती पुलमा समेत क्षति रहेको छ । बागमति पुलको एप्रोच छिटो निर्माण गरी सवारी साधन सुचारु गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
हेटौंडाबाट पूर्व जानका लागि दुई वटा राजमार्गहरू प्रयोग गर्न सकिन्छ । ती हुन् हेटौंडा-सिन्धुली-चतरा-धरान (मदन भण्डारी राजमार्ग) र पूर्व पश्चिम राजमार्ग । यी दुवै राजमार्ग हाल सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौंडा पुगेपछि मध्य पहाडी राजमार्गहुँदै सिन्धुली सदरमुकाम, भिमान, कटारी हुँदै घुर्मी निस्किएर सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जान सकिन्छ । त्यसैगरी मध्यपहाडि राजमार्गहुँदै सिन्धुलीको सदरमुकामबाट खुर्कोट निस्किएर घुर्मीहुँदै सोलु, ओखलढुंगा र खोटाङ जान सकिन्छ । यो सडक मार्ग विपी राजमार्गभन्दा दोब्बर बढि लामो छ । विपी राजमार्ग काठमाडौंदेखि सल्लेरीसम्म २८२ किलोमिटर छ, भने, चन्द्रागीरी, चित्लाङ, हेटौंडा, मध्यपहाडि राजमार्ग भिमानहुँदै कटारी घुर्मी भएर जाँदा ४९० किलोमिटर लामो रहेको छ ।