हेटौंडा । बागमती सरकारले ९ दिनसम्म निरन्तर काम गर्दै हेटौंडा-काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा ल्याएको छ ।
हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-हुमानेभन्ज्याङ-फर्पिङ-काठमाडौ र कुलेखानी-महालक्ष्मीखोला-चखेल-मातातीर्थ-काठमाडौं गरी तीन वटा सडक सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए ।
१० देखि १२ असोजसम्म परेको वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा जोड्ने सडकहरु अवरुद्ध भएका थिए । दक्षिणकालीदेखि सिस्नेरीसम्म सानाठूला गरी ६० वटा र सिस्नेरीदेखि भैंसेसम्म ४० वटा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको मन्त्री मास्केले बताए ।

३ वटा सडकमा ५ वटा डाइभर्सन बनाइएको उनले बताए । कुलेखानी-सिस्नेरी खण्डको ज्यामिरेमा, कुलेखानी-फाखेल खण्डको महालक्ष्मी खोलामा, कुलेखानी ड्याम क्षेत्रमा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको हो ।
महालक्ष्मी खोलामा ७० मिटर सडकमा क्षति पुगेको उनले जानकारी दिए । सवारी चाप अत्याधिक हुने भएकाले सिस्नेरी र फाखेल सडकलाई ‘वान वे’ बनाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
गाडी अड्किएको अवस्थामा कुलेखानी र महालक्ष्मी खोलामा जेसिबी तयारी अवस्थामा राखिएको मन्त्री मास्केले जनाए । ९ दिनसम्म एक्साभेटर, जेसिभी र टिपर लगाएर काम गरिएको भौतिक मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । एक्साभेटरको भाडा र इन्धन खर्च मात्रै मन्त्रालयले ब्यहोर्ने गरी काम गरिएको उनले बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना, पूर्वाधार विकास कार्यालय मकवानपुर र ललितपुर एकसाथ खटिएर निरन्तर काम गरिएको सचिव श्रेष्ठ बताउँछन् ।
कुलेखानी-मार्खु-चित्लाङ-चन्द्रागिरी-थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यै सञ्चालनमा ल्याइएको हो ।
कान्तिलोकपथ सडक खण्ड भने सञ्चालनमा आइसकेको छैन । भीमफेदी र ललितपुर जोड्ने बागमती पुल बगाएकाले उक्त सडक खण्ड अवरुद्ध छ ।