काठमाडौं । केहि दिन अघि अविरल वर्षाका कारण देशभरका विभिन्न ठाउँमा गएको पहिरो र बाढिका कारण अझैसम्म सडक अवरुद्ध छ । दशैँको मुखैमा आएका प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षती पुर्याएको छ ।
कोशी प्रदेश र मधेष प्रदेश जाने मुख्य सडक मार्ग विपी राजमार्ग बाढि र पहिरोको कारण अझै अबरुद्ध छ । विभिन्न सामाजिक सञ्जालमा यो र त्यो बैकल्पिक बाटो खुल्यो भन्दै प्रचारबाजी भैरहेको देखिन्छ । त्यसैलाई आधार मानि त्यहि बाटो भएर यात्रा गर्ने यात्रुहरुको अनुभव र प्रतिक्रिया त्यत्ति राम्रो छैन । एक दिन अघिमात्रै सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट काठमाडौं आएका व्यवसायी भानुभक्त उपाध्यको अनुभव सामाजिक सञ्जालमा देखेजस्तो सकारात्मक छैन ।
‘घुर्मीदेखि यता धेरै अफ्ठ्यारो छ । रातारात गाडि चालकहरु कुदिरहेका छन् । कहि प्रहरी चेकिङ छैन । त्यसैले गाडिको यात्रा अति जोखिमपूर्ण छ । चालक दुई जना राख्ने चलन पनि छैन । सामाजिक सञ्जालमा यो बाटो खुल्यो र त्यो बाटो भनेर प्रचार गरेजस्तो बाटो छैन,’ व्यसायी उपाध्यले भने, ‘अहिले सामाजिक सञ्जालमा देखिएको विपी राजमार्गको बैकल्पिक बाटो यो र त्यो भनेको भन्दा तराईको बाटो अलि राम्रो छ । हामी गाडि चालके भनेको भरमाभन्दा खुर्कोट प्रहरीले भनेपछि मुलकोट, सित्का पुल तरेर खाँणदेवी, खिम्ती, मन्थली, तामाकोशी, चरीकोट, मुँढे, सुकुटे र धुलिखेलहुँदै २१ घण्टामा काठमाडौं आइपुगेका हौं ।’

चन्द्रगीरीको बाटो पनि अफ्ठ्यारो नै छ, तर, यता दोलखा र रामेछापको सडकभन्दा अलि सजिलै छ भन्ने त्यही बाटोबाट हिड्ने यात्रुहरुले भनेका छन् । नयाँ रुटमा त झन समस्या छ । बिरामी भयो भने सम्पर्क गर्न र उद्धार गर्न गाह्रो छ । बाईकमा यात्रा गर्नु झन असुरक्षित छ । जो जहाँ बसेको छ त्यहि बसेर दशैँ मनाउन राम्रो हुन्छ । राती चाँहि कुनै बाटो भएर यात्रा नगर्न सल्लाह दिन्छु व्यवसायी उपाध्यको भनाई छ ।
‘हामी हल्लामा मात्रै दौडियौं, तर वास्तविकता बुझेनौं । विपी राजमार्ग दशैँ पछाडिसम्म बाटो यस्तै हो । जुन पायो त्यहि बाटो राम्रो भन्दै सामाजिक सञ्जालमा गरिएका प्रचारको पछाडि नलाग्नु हुनु अनुरोध गर्छु, उपाध्यले भने, ‘गाडिवालाको त भर नपरे हुन्छ । बिरामी र बच्चा लिएर यात्रा गर्दै नगर्दा राम्रो । यदि हिड्नै परे आफूले निर्णय गरेर मात्रै सडक यात्रा गर्नु ।’
चासुवा रेष्टुरेण्टका सञ्चालक विकास वाम्बुले राईले पनि भकुण्डेवेशी, तेमाल, मुलटको, खुर्कोट, घुर्मीहुँदै काठमाडौंदेखि ओखलढुंगासम्मको यात्रा गरे । उनी मोटरसाइकलबाट नयाँ सडकमार्गहुँदै ओखलढुंगा पुगेका हुन् ।
राईको पनि बैकल्पिक सडका यात्राको अनुभव त्यत्ति राम्रो नभएको प्रतिक्रिया दिए । सित्काबाट उलाको चढेपछि बाटो धेरै गाह्रो छ । भकुण्डेवेशी तेमाल सडकमा ७५ किलोमिटर धुले सडकमा यात्रा गर्नुपर्छ,’ राईले भने, ‘बैकल्पिक भनिएका सडक धेरै अफ्ठ्यारो रहेछ । बल्ल बल्ल गन्तव्यमा पुगियो ।’
पछिल्लो समयमा सामाजिक सञ्जालमा देखिएको भिडको पछि लाग्ने मानसिकताले धेरै नागरिकले दुःख पाएका छन् । स्टन्टबाजी र भाइरलको हुने चाहनाले पनि आम नागरिकले सास्ती खेप्नु परेको जानकारहरु बताउँछन् । दशैँको मुखमा यात्रा गर्दै हुनुहुन्छ भने सामाजिक सञ्जालको पछि होइन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र सरकारका आधिकारिक व्यत्तिहरुसँग सम्पर्क गरेर मात्रै नयाँ बैकल्पिक सडकको प्रयोग गरौं । दशैँ कुनै नागरिकको पनि दशा नबनोस ।