३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

एचआइभी सङ्क्रमितका लागि एआरटी केन्द्र



बैतडी, १९ कात्तिक । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र (एआरटी) बिहिबारदेखि सञ्चालनमा आएको छ ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको छ । एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

बैतडीको तल्लोस्वराडमा नियमित एआरटी खाँदै आएका १७ जना एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमितले एआरटी औषधि सेवन गर्नका लागि जिल्ला अस्पतालमा आउनुपर्ने बाध्यता अब टरेको छ । यस सँगै बैतडीमा दुई ठाउँमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएका छन् । बिहीबार एक कार्यक्रमबीच औषधि वितरण केन्द्रको उद्घाटन गरिएको हो ।

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सदस्य शुक्रबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अवस्थी रहनुभएको थियो भने विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी टेक कुँवर रहनुभएको थियो । रासस

प्रकाशित मिति : १९ कार्तिक २०७३, शुक्रबार  ५ : २१ बजे