बुटवल । रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले अवरोध पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको थियो । प्रहरीले भने तस्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको दाबी गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।
अवैध चिनी बरामद गरेर फर्किने क्रममा विहीबार बेलुका करिब ६ बजे एक सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स झिकाइएको थियो । सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो । त्यसपछि बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको थियो ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले सशस्त्रको टिमले ठूलो दुर्घटना हुनबाट बचाएको बताए । ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशी प्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डे लगायतको हातमा चोट लागेको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिए ।
साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको छ । केही समय अगाडि मर्चवारमा तस्करहरुले भन्सारको गस्ती टोलीलाई घेरामा लिई गाडीसहितको तस्करीको सामान भगाएका थिए ।