बुटवल । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु गरिएको छ ।
मंगलबार दिउँसो भैरहवा ल्याएका लामिछानेसँग मौखिक प्रश्न सोधिएकोमा आज बिहान साढे १० बजेदेखि लिखित बयान लिन सुरु गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ
लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मंगलबार साँझ पौने ६ बजेसम्म २० भन्दा बढी प्रश्न सोध्दा अधिकांश प्रश्नमा लामिछानेले इन्कारी बयान दिएका थिए । बयानमा लामिछानेले आफूले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको इन्कार गरेका थिए । उनले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका थिए ।