बयानका लागि रविलाई पोखराबाट काठमाडौं ल्याइयो

  सगरमाथा अनलाईन
98 Shares

काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको छ ।

लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट उनलाई सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली लगिएको छ । सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रहरी परिसर क्षेत्र वरपर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

लामिछानेलाई पछिल्लोपटक ९ मंसिरमा १५ दिन म्याद थप भएको छ । लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरू पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरूलाई छ । जिल्ला अदालत चितवनले ७ मंसिरमा रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसअघि काठमाडौंबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार