काठमाडौँ, २० कात्तिक । विभिन्न राजनीतिक दलका नेताले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण सकारात्मक रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले राजनीतिक दृष्टिकोणमा शीर्ष तहको भ्रमणको आदानप्रदान हुनु एकदमै सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुखर्जीको भ्रमणले द्विपक्षीय पारस्परिक सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगेको छ ।”
उपाध्यक्ष रावलले राष्ट्रपति मुखर्जीको भ्रमणमा नेपाल सरकारले सार्वजनिक बिदा दिएर कूटनीतिक अभ्यास विपरीत काम गरेको बताउनुभयो । उहाँले राष्ट्रपति मुखर्जीको भ्रमणका बेला उपत्यकामा एम्बुलेन्ससमेत चल्न नदिएर नागरिकलाई सास्ती दिने कामप्रति भने दुःख व्यक्त गर्नुभयो ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमूख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले राखेको महाभियोग प्रस्तावमा नेपाली काँग्रेसले उचित निर्णय लिने विश्वास व्यक्त गर्नुभयोे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धमा देखा परेको चिसोपना हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध थप मजबुत बनेको छ ।”
नेता विश्वकर्माले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणमा उपत्यकाको यातायातदेखि अन्य व्यवस्थापनमा सरकारको कमजोरी रहेको बताउनुभयो । उहाँले संविधान संशोधनबारे ठूला दलहरु एक ठाउँमा आएको बताउँदै चाँडो संविधान संशोधनको पहलकदमी हुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल (बलदेव)ले भारतीय राष्ट्रपति मुखर्जीको तीनदिने नेपाल भ्रमण पूर्णरुपमा सफल भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएका पछिल्ला सबैखाले तिक्तता हटेका छन्, उहाँको सद्भावपूर्ण भ्रमण भएकाले यो भ्रमण एकदमै सफल भएको छ ।”
खनालले राष्ट्रपति मुखर्जीको भ्रमणलाई लिएर सार्वजनिक बिदा दिएको र सर्वसाधारणले सास्ती पाएको घटनालाई विवादित बनाइयो तर यो घटना अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साखका लागि भएको बताउनुभयो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मुखर्जीको नेपाल भ्रमण फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “द्विपक्षीय सम्बन्ध उचाइमा पु¥याउन र आपसी विश्वास बढाउन यो भ्रमणले मद्दत पुगेको छ ।”
उहाँले नेपालको संविधानप्रति भारतीय राष्ट्रपतिले बोलेको भन्ने कुरा आधारहिन भएको बताउँदै उहाँले नेपालको संविधान र तराई–मधेसमा देखिएको समस्याबारे भारतीय राष्ट्रपतिले जिज्ञासा मात्र राखेको स्पष्ट पार्नुभयो । रासस