५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

‘संविधान संशोधनको कुरा सरकारले त्यसको पुष्टि गर्न सकेन’



बुटवल, २० कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा गरे पनि त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो ।

नेता ज्ञवालीले भन्नुभयो, “अङ्गिकृत नागरिक पनि राष्ट्रप्रमुख हुन पाउनुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने र प्रदेश नम्बर ५ का पहाडी जिल्ला, गुल्मी, पाल्पा र अर्घाखाँचीलाई अलग्याउन माग राखेर संविधान संशोधनका कुरा उठेको छ, यो कदापि स्वीकार्य छैन ।”

सरकारले आउँदो माघसम्म तीनै तहको निर्वाचन गराउनुपर्ने भए पनि अहिलेसम्म त्यसको कुनै प्रक्रिया समेत अगाडि बढाउन नसक्दा संविधान नै सङ्कटमा पर्ने अवस्था देखा पर्न थालेको भन्दै ज्ञवालीले त्यसतर्फ सरकार संवेदनशील नदेखिएको आरोप लगाउनुभयो । रासस

प्रकाशित मिति : २० कार्तिक २०७३, शनिबार  १ : ४६ बजे