२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

कुम्भ मेलामा भागदौड, कम्तिमा १० जनाको मृत्यु



काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ ।

गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् । मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : ०६ बजे