काठमाडौं, २१ कात्तिक । कांग्रेसका पाँच नेताले मर्यादाक्रम नमिलेको भन्दै १३औँ महाधिवेशनपछि बसेका चारवटै केन्द्रीय कार्यसमितिको बैठकमा हस्ताक्षर गरेका छैनन् ।
आफूहरूको ‘सिनियारिटी’अनुसार मर्यादाक्रम नमिलेको भन्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले उपस्थितिपुस्तिकामा हस्ताक्षर नगरेका हुन् । लेखक पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् ।
मर्यादाक्रममा श्रेष्ठलाई सातौँ नम्बरमा राखिएको छ । आफूभन्दा अघि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई राखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् । आफ्नो माग सुनुवाइ नभएको भन्दै नेता श्रेष्ठ केन्द्रीय समिति बैठकमा पछाडि बस्दै आएको आजको नयाँ पत्रिकामा समाचार छ ।
साथै, केन्द्रीय समितिमा पदीय मर्यादा नमिलाएपछि संसद् बैठकमा पनि आफू अगाडि नबसी पछाडि बस्न थालेको उनले बताए । यसअघि पार्टीमा महाधिवेशन भएपछि पदीय मर्यादाक्रमबारे ठूलो झमेला र लफडा नभएको श्रेष्ठ बताउँछन् ।
पाँच नेताले असन्तुष्टि राखेपछि केही दिनअघि बसेको केन्द्रीय समिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले मर्यादाक्रम मिलाउने आश्वासन दिएका थिए ।