काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा आज बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालका उत्तरी भेगमा पनि स्पष्ट रूपमा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार भूकम्प आज बिहान ४ बजेर ५ मिनेटमा गएको हो । भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतस्थित सिगात्से क्षेत्रमा पर्ने दिङ्गी काउन्टी रहेको जनाइएको छ, जुन नेपाली सीमाबाट करिब १८ किलोमिटरको दूरीमा पर्दछ ।
सिगात्से क्षेत्र विगतमा पनि बारम्बार भूकम्पका कारण प्रभावित हुँदै आएको छ । २०८१ सालको पुस २३ गते सोही क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो भने फागुन २४ गते पुनः ५.९ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको थियो । ती भूकम्पहरूपछि थुप्रै परकम्पहरू आउने क्रम अझै जारी छ ।

पुस २३ को भूकम्पले सिगात्सेमा जनधनको क्षति पनि पु-याएको थियो । विशेषज्ञहरूका अनुसार नेपाल भौगोलिक दृष्टिले भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो । यही वैशाख २ गते पनि जाजरकोट केन्द्रविन्दु भएर एकैदिन दुईपटक भूकम्प गएको थियो ।
हालसम्म आजको भूकम्पबाट नेपालमा कुनै क्षति भएको विवरण आएको छैन । तर, उत्तरका सीमावर्ती बासिन्दाहरूले हल्का धक्का महसुस गरेको बताएका छन् ।