इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन् भने तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेका छन् । घटनाबारे जानकारी दिँदै सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले गोली प्रहारमा संलग्न अर्का पक्षका तीन जना, जसमा कामेश्वर यादव पनि छन्, फरार रहेको र उनीहरूको खोजी जारी रहेको बताए ।
गोली प्रहारमा संलग्न दुवै समूह आपराधिक पृष्ठभूमिका रहेको र उनीहरू सीमावर्ती क्षेत्रमा बसेर विभिन्न गैरकानुनी क्रियाकलापमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी तिम्सिनाले जानकारी दिए । उनका अनुसार तीमध्ये केही भारतमा समेत आपराधिक सूचीमा परेका छन् ।

गोली प्रहारका क्रममा गम्भीर घाइते भएका शिवकुमार मेहताको विराटनगरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । पक्राउ परेका रवीनकुमार यादव यसअघि गाँजा तस्करी मुद्दामा पक्राउ परेका थिए र केही दिनअघि मात्रै छुटेका थिए ।
प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाएको छ ।