डोटीमा सिकार खेल्दा गोली लागेर युवकको मृत्यु, १० जना पक्राउ

  सगरमाथा अनलाइन
119 Shares

डोटी । डोटीको बडिकेदार गाउँपालिका-१ स्थित बर्छेन जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

बिहीबार दिउँसो भएको घटनामा २४ वर्षीय नरेश सार्कीको छातीमा गोली लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सार्की सोही गाउँपालिका-२ का बासिन्दा हुन् ।

प्रहरीका अनुसार बडिकेदार-१ रजेडाका ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किँदा अचानक बन्दुक पड्किएको थियो । गोली सार्कीको दायाँ छातीमा लागेको डोटीका एसपी विनोद शर्माले जानकारी दिए ।

घटनापछि प्रहरीले सिकारमा सहभागी रहेको आशंकामा १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलसिंह खड्कासहित खेम खड्का, तारासिंह खड्का, तेजेन्द्र भाट, अमर शाह, चक्र भाट, सुनिल बम, गणेशबहादुर घर्ती मगर, मानबहादुर शाह र जुलेश नामजाली मगर छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार