पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन रोकावट छैन : प्रचण्ड

  सगरमाथा अनलाइन
119 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा सहभागी हुन कुनै रोकावट नरहेको बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान, कानुन वा अन्तर्राष्ट्रिय परम्पराले पनि उनीहरूको राजनीतिक सहभागितालाई रोक्ने कुनै आधार नरहेको जिकिर गरे ।

‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनैले पनि रोक्दैन । उहाँहरू राजनीतिमा आउन चाहनुहुन्छ भने रोक्ने केही छैन,’ प्रचण्डले स्पष्ट पारे । उनले उपराष्ट्रपतिले स्वयं ‘पार्टीको सिपाही’का रूपमा काम गर्ने चाहना व्यक्त गरिसकेको उल्लेख गर्दै त्यसमा रोकावट नरहने बताए ।

उनले गणतन्त्रको सुदृढताको लागि सबैको भूमिका आवश्यक हुने बताउँदै राष्ट्रपतिहरूको भूमिकाले मात्र गणतन्त्र जोगिन नसक्ने धारणा राखे । ‘राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने होइन, यो नामले होइन, कामले जोगिन्छ,’ उनले भने ।

प्रचण्डले अहिलेको अवस्थामा गणतन्त्रप्रति कुनै गम्भीर खतरा नरहेको प्रष्ट पारे । ‘अहिलेलाई गणतन्त्रमाथि खतरा आयो भनेर अत्यधिक चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘तर लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै दलहरू एक हुन आवश्यक छ भन्ने आवाज ठीक छ ।’

यस्तै, प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने पनि माओवादी केन्द्रको भ्रष्टाचारविरुद्धको अडान स्पष्ट रहेको बताए । ‘ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन भए पनि भ्रष्टाचारको मुद्दामा समर्थन हुँदैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार