प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग पुरा हुन्छन्, वार्तामा आउनुस्”

  सगरमाथा अनलाइन
294 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन् । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आन्दोलनले विद्यार्थी, अभिभावक र समग्र शिक्षातन्त्रलाई नोक्सान भएको उल्लेख गर्दै शिक्षकहरूप्रति सरकार नेगेटिभ नरहेको स्पष्ट पारे ।

“सरकार उहाँहरुको जायज मागप्रति सकारात्मक छ, सम्भव भएका मागहरु पूरा हुन्छन्,” प्रधानमन्त्रीले भने, “तर वार्ता नगरी आन्दोलन गर्नु त अनौठो कुरा हो । तुरुन्तै वार्तामा आउनुस्, सहमति गरौं, विद्यालय फर्कनुस् ।”

सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्तालसमेत सुरु गरेका छन्, जसका कारण वैशाखदेखि सञ्चालनमा रहेका भर्ना अभियान र एसईई उत्तरपुस्तिका परीक्षण प्रभावित भएका छन् ।

प्रधानमन्त्रीले आन्दोलनले शिक्षकहरूलाई भन्दा बढी विद्यार्थीलाई नोक्सान पुर्‍याएको भन्दै वार्ताबाट समाधान खोज्न पुनः आग्रह गरेका छन् । शिक्षक महासंघले यसअघि प्रधानमन्त्री, सभामुख र शिक्षामन्त्रीसँग पटकपटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन । आन्दोलन आजसम्म २० औं दिनमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार