काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन् ।
राजीनामाको कारणबारे आधिकारिक जानकारी दिइएको छैन, तर पछिल्लो समय शिक्षक आन्दोलन उत्कर्षमा पुगेका बेला उनको राजीनामा आएको हो । सरकारी विद्यालयका शिक्षकहरूले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । चैत २० गतेदेखि सुरु भएको आन्दोलन चैत २५ पछि आम शैक्षिक हड्तालमा परिणत भइसकेको छ । आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघले शिक्षामन्त्री भट्टराईसँग पटकपटक वार्ता गरे पनि ठोस सहमति जुट्न सकेको थिएन ।
शिक्षामन्त्रीको राजीनामासँगै आन्दोलनरत शिक्षकहरू र सरकारबीचको सम्वाद प्रक्रिया तथा समाधानको सम्भाव्य मार्गचित्रमा थप प्रभाव पर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले शिक्षकहरूको जायज माग पुरा गरिने भन्दै वार्तामा आउन आग्रह गरिरहेकै बेला मन्त्री भट्टराईको राजीनामा आएको हो ।