तेहरान (इरान), २१ कात्तिक । इराकको सामारास्थित एउटा बस पार्किङ क्षेत्रमा आत्मघाती विस्फोट गराइँदा सात जना इरानी पर्यटकको मृत्यु भएको छ भने अन्य ६१ जना घाइते भएका छन् ।
घटना इरानी सिया समुदायका पर्यटकलाई लक्षित गरी भएको इरानको सरकारी समाचार संस्था आइआरएनए न्युज एजेन्सीले आइतबार बताएको छ ।
घटनामा गम्भीर घाइते भएका इरानी पर्यटकलाई उपचारका लागि इराकी राजधानी बग्दाद पठाइएको सामारामा धार्मिक पर्यटन क्षेत्रमा काम गर्दै आएका इरानी प्रतिनिधि मौजा इस्माइलीले बताउनुभयो ।
घाइते अन्य पर्यटकको सामारास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच अमेरिकी समाचार संस्था (एपीे) ले घटनामा ११ जनाको मृत्यु भएको जनाएको छ भने मृतकमध्ये अधिकांश इरानी सिया धर्मावलम्वी रहेको बताएको छ । रासस/सिन्ह्वा/एपी








