रेनो, (नेभादा), २१ कात्तिक । अमेरिकाको नेभादा राज्यमा अवस्थित रेनोमा शनिबार राति आयोजित डोनाल्ड ट्रम्पको आमसभा केही बेरसम्म बिथोलियो ।
आफ्ना समर्थकहरुको एक ¥यालीमा उम्मेदबार डोनाल्ड ट्रम्पले सम्बोधन गरिरहेका बखत एकजना श्रोताले “बन्दुक बन्दुक” भनी कराउँदा मञ्च वरपर तीव्र होहल्ला र भागदौड मच्चिन गै आमसभा नै केही समय बिथोलिएको हो ।
तत्पश्चात् भीडभाड वा मानिसहरुको जमघटमा हातहतियार वा कुनै विस्फोटक पदार्थ भए नभएको अनुगमन गर्ने सरकारी निकायः सेक्रेट सर्भिसका दुईजना सुरक्षाकर्मीले ट्रम्पलाई तत्कालै घेरा हाल्दै सुरक्षा दिई अन्तै लानु प¥यो ।
खोजबीन र अनुसन्धानपश्चात् भीडका कुनै पनि मानिससँग वा सो परिसरभित्र बन्दुक वा कुनै हतियार नभेटिएको, आमसभा बिथोल्न खाली असत्य हल्ला मात्र फिँजाइएको भनी सेक्रेट सर्भिसले एक बिज्ञप्तिद्वारा जानकारी दिएको छ ।
हल्ला फिँजाउने फटाहालाई तुरुन्तै नियन्त्रणमा लिइएको पनि सेक्रेट सर्भिसले बताएको छ । होहल्ला शान्त भएको केही बेरमै बाहिर निस्कनु भएका ट्रम्पले सेक्रेट सर्भिसका सुरक्षाकर्मीलाई धन्यबाद दिँदै “आमसभा सञ्चालन गर्नु हामीलाई त्यत्ति सहज छैन । तर हामीले कहिल्यै पनि रोकिनु हुन्न, कहिल्यै पनि थकाइ मारेर बस्नु हुन्न” भनी पुनः भेला भएका श्रोताहरुलाई ढाढस दिनु भएको बताइएको छ ।
बन्दुकको हल्ला फैलाउने फटाहाको पहिचान वा त्यसउपर सार्वजनिक अपराध गरेको आरोप वा उसलाई कुनै कारबाही भयो, भएन यस बारे सेक्रेट सर्भिसले खुलासा गरेको छैन, “घटनाको अनुसन्धान भै रहेको” भन्ने मात्र जनाएको छ ।
सेक्रेट सर्भिसले राष्ट्रपतीय उम्मेदबारहरुको निर्वाचन प्रचारप्रसार अभियानभरी “म्याग्नेटोमिटर” यन्त्र प्रयोग गरी आमसभा, भीडभाड वा मनिसहरुको जमघटमा बन्दुक, हातहतियार वा कुनै विस्फोटक पदार्थ भए नभएको जाँच गर्ने गरेको छ ।
यता, बन्दुक वा कुनै हातहतियार फेला नपरे ता पनि ट्रम्पका छोरा र ट्रम्प निर्वाचन अभियानकै एकजना वरिष्ठ कार्यकर्ता भने “नेभादा ¥यालीमा ट्रम्पलाई आक्रमण गरी सिध्याउने प्रपञ्च भएको थियो” भन्ने अनर्गल हल्ला फिँजाउन व्यस्त रहेका बताइएको छ ।
डोनाल्ड ट्रम्पको निजी सामाजिक स्ञ्जाल एवं सञ्चार माध्यम सञ्चालनसमेत गर्ने पुत्रद्वयः डोन जुनियर र डान स्क्याभिनोले ट्वीटरमा यस्तो जथाभावी हल्ला चलाएका जनाइएको छ ।
रेनो इलाकामा शनिबार राति एकक्षण हल्का वर्षा भएको थियो । यसलाई पनि समेट्दै ट्रम्प पुत्रद्वयले “पानी परेपछि हिलारी भाग्नमा ब्यस्त, आक्रमणको प्रयासको वास्तै नगरी केहीबेरमै ट्रम्प मञ्चमा ब्यस्त” भन्ने वाक्य ट्वीटरमा पोस्ट गरेका छन् ।
त्यस्तै, फादर एन्ड्रे वाइ सेबास्टियन माहन्ना नामक एकजना पास्चरले “ट्रम्पको हत्या गर्ने उद्देश्यले रेनोको घटना रचिएको” भनी कोलोराडो राज्यको डेन्भरमा आयोजित ट्रम्पको अर्को ¥यालीमा जथाभावी उद्घोष गरे ।
रेनो जमघटमा बन्दुक वा कुनै हतियार नभेटिएको, आमसभा बिथोल्न खाली असत्य हल्ला मात्र फिँजाइएको भन्ने सेक्रेट सर्भिस श्रोतलाई उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमहरु विरुद्ध पनि खनिँदै फादर एन्ड्रेले “रिपब्लिकन उम्मेदबारविरुद्ध घृणा र विद्वेष फैलाउने प्रयास गरेको” भन्न भ्याए । रासस/एपी